वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीका दुई वटा मोटरसाइकल र एक स्कुटरसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार यही माघ ५ गते बेलुका करिब ८ः३० बजे वीरगञ्ज महानगरपालिका–१३ राधेमाईमा गस्तीमा खटिएको वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले संकास्पद रूपमा मोटरसाइकल डोर्याइरहेका एक युवकलाई रोकी जाँच गर्दा चोरी भएको मोटरसाइकल फेला पारेको हो।
जाँचका क्रममा उक्त मोटरसाइकलको पछाडिको नम्बर प्लेट नरहेको, साँचो नभएको तथा अगाडिको तार काटिएको अवस्थामा रहेको पाइएको थियो। सो मोटरसाइकल TVS कम्पनीको रहेको र अगाडिको नम्बर प्लेट BR05AQ6924 जडान गरिएको भए पनि वास्तविक रूपमा चोरीको भएको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएका वीरगञ्ज महानगरपालिका–१३ श्रीपुर निवासी १९ वर्षीय साहिल कुमार रौनियारसँग गरिएको सोधपुछबाट उनले पाँच दिनअघि दुई जना साथीहरूसँग मिलेर वीरगञ्ज–१३ स्थित दृष्टि आँखा अस्पताल क्षेत्रबाट दुई वटा मोटरसाइकल चोरी गरेको स्वीकार गरेका छन्।
चोरी गरिएका मोटरसाइकलहरू सोही वडाका १९ वर्षीय श्यामबाबु ठाकुरको कोठामा लुकाइ राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सोही स्थानबाट नम्बर प्लेट नभएको HONDA SHINE मोटरसाइकल तथा एक थान कालो रंगको स्कुटर समेत बरामद गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ श्रीपुर निवासी रौनियार, सोही स्थानका १९ वर्षीय श्यामबाबु ठाकुर र भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला सुगौली घर भई हाल वीरगञ्ज–१३ बस्दै आएका १९ वर्षीय रोशन कुमार गुप्ता रहेका छन्।
बरामद सवारीसाधनहरूमा BR05AQ6924 नम्बर प्लेट जडान गरिएको TVS मोटरसाइकल, नम्बर प्लेट नभएको HONDA SHINE मोटरसाइकल तथा ना ५५ प १५ नम्बरको कालो रंगको स्कुटर रहेका छन्।
पक्राउ परेका तीनै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।






