वीरगञ्ज । वीरगञ्जमा रेल्वे इतिहासलाई जोगाउँदै नयाँ पहिचान बनाउने पहल अघि बढेको छ। जनकपुरबाट पुरानो तथा ऐतिहासिक महत्व बोकेको रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने उद्देश्यसहित आज वीरगञ्जस्थित बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा स्थलगत निरीक्षण गरिएको हो।
पर्यटन प्रवर्द्धन र ऐतिहासिक सम्पदाको संरक्षणलाई केन्द्रमा राखेर अघि सारिएको यस योजनाबारे सरोकारवालाबीच गम्भीर छलफल भएको छ। निरीक्षण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहितको टोली सहभागी रहेको थियो।
टोलीले निरीक्षणका क्रममा सो क्षेत्रको वर्तमान अवस्था, आवश्यक पूर्वाधार, तथा संग्रहालय स्थापनाका लागि अपनाउनुपर्ने प्रक्रिया र सम्भावनाबारे विस्तृत छलफल गरेको जनाएको छ। सहभागीहरूले जनकपुरबाट ऐतिहासिक रेल शीघ्र ल्याई संग्रहालय निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
मेयर सिंहले रेल्वे संग्रहालय स्थापना भएपछि वीरगञ्जको ऐतिहासिक महत्व थप उजागर हुने, आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुग्ने र नयाँ पुस्तालाई रेल्वे इतिहासबारे प्रत्यक्ष जानकारी प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यो परियोजना महानगरको दीर्घकालीन सांस्कृतिक र पर्यटकीय विकास रणनीतिसँग समेत जोडिएको छ।
निरीक्षण टोलीले आवश्यक समन्वय पूरा गरी छिटोभन्दा छिटो रेल ल्याउने र संग्रहालय निर्माण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रस्तावित रेल्वे संग्रहालय वीरगञ्जको नयाँ पर्यटकीय आकर्षणका रूपमा विकास हुने अपेक्षा गरिएको छ।






