वीरगंज । वीरगंज पब्लिक कलेजद्वारा सरस्वती पूजाको विशेष अवसर पारेर आज (शुक्रबार) कलेज प्राङ्गणमा आयोजना गरिएको खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८२ को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ।
दिउँसो भएको कार्यक्रममा गायन आइडल, नृत्य आइडल तथा फ्यान्सी ड्रेस प्रतियोगिता लगायतका विभिन्न सिर्जनात्मक प्रतियोगिताहरूमा विजयीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई शील्ड, पदक (मेडल) तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने तथा सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ।
कलेजका संस्थापक डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका शैक्षिक शाखा प्रमुख प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै विभिन्न शैक्षिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांगीतिक प्रस्तुति तथा विभिन्न समुदायको पहिचान झल्काउने सांस्कृतिक नृत्यहरूले उपस्थित अतिथिहरूको मन लोभ्याएको थियो। विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन र सांस्कृतिक चेतनाले कार्यक्रमलाई थप आकर्षक बनाएको सहभागीहरूको भनाइ थियो।
शैक्षिक गतिविधिसँगै सह पाठ्यक्रम क्रियाकलापलाई समेत समान महत्व दिँदै आएको कलेजले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ।






