वीरगञ्ज । विगत तीन दशकभन्दा लामो समयदेखि निजी क्षेत्रका विभिन्न संगठनमार्फत सक्रिय रहँदै आएका व्यवसायी तथा समाजसेवी अशोक टेमानी जनताको समग्र विकासको उद्देश्यसहित राजनीतिमा सक्रिय भएका छन्। निजी क्षेत्र र आर्थिक विकासका सरोकारहरूमा लामो अनुभव बटुलेका टेमानी हाल जनता समाजवादी पार्टी नेपालका तर्फबाट पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार रहेका छन्।
वीरगञ्ज उद्योग वाणिज्य संघ र मधेस प्रदेश अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका टेमानी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत यातायात तथा पारवहन समितिको अध्यक्षसमेत भइसकेका छन्। उद्योग, व्यापार, रोजगारी र आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएका विषयमा निरन्तर आवाज उठाउँदै आएका टेमानीको अनुभवले स्थानीयस्तरदेखि राष्ट्रिय तहसम्म सकारात्मक योगदान पुर्याएको जनाइएको छ।
चुनावी अभियानको क्रममा टेमानीले पर्सागढी नगरपालिका वडा नम्बर–१ मा स्थानीयसँग भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। सो अवसरमा उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाहरू ध्यानपूर्वक सुनेका थिए।
भेटघाटका क्रममा उम्मेदवार टेमानीले निजी क्षेत्रको अनुभवलाई सार्वजनिक सेवामा प्रयोग गर्दै क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा आधारभूत पूर्वाधार सुदृढीकरणमा आफू प्रतिबद्ध रहेको बताए। उनले जनताको साथ र विश्वास प्राप्त गरेर विकासमुखी र परिणाममुखी राजनीति गर्ने स्पष्ट धारणा व्यक्त गरे।
स्थानीयबासीहरूले पनि टेमानीको अनुभव, व्यवहारिक सोच र विकासप्रतिको प्रतिबद्धताप्रति आशा व्यक्त गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। जनताको घरदैलोमै पुगेर संवाद गर्ने उनको शैलीले चुनावी माहोल थप सक्रिय बन्दै गएको देखिएको छ।






