Categories समाचार

वीरगन्जमा ऐतिहासिक रेल्वे स्मृतिलाई जीवन्त बनाउने महानगरको तयारी सुरु

Advertisement

वीरगन्ज । वीरगन्जको घण्टाघर नजिक बीपी उद्यानको उत्तरतर्फ रहेको खाली जग्गामा वीरगन्ज महानगरपालिकाले ‘रेल्वे म्युजियम’ निर्माणको तयारी सुरु गरेको छ। नेपालमा पहिलो पटक सञ्चालन भएको रक्सौल–अमलेखगञ्ज रेल सेवाको ऐतिहासिक महत्वलाई संरक्षण गर्ने उद्देश्यसहित यो पहल अघि बढाइएको हो।

गत असार ९ गते सम्पन्न वीरगन्ज महानगरपालिकाको १३औँ नगरसभामा मेयर राजेशमान सिंहले चालु आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रेल सेवा स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचनाको संरक्षण तथा पुनःप्रयोग गर्दै ‘रेल्वे म्युजियम’ निर्माण गरिने घोषणा गरेका थिए। सोही घोषणा अनुसार अहिले म्युजियम निर्माणका लागि प्रारम्भिक तयारी थालिएको हो।

Advertisement

शनिबार प्रस्तावित स्थलमा रहेका पुराना रेल्वे संरचना वरपरको झाडी, रुख तथा फोहोर हटाउँदै सरसफाइ गरिएको छ। म्युजियम निर्माण हुने क्षेत्रलाई सफा, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले सरसफाइ कार्यक्रम सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ।

Advertisement

सरसफाइ कार्यक्रममा वीरगन्ज महानगरपालिका, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सहभागिता रहेको थियो।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीपराज पाठक तथा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलगायतको सहभागिता रहेको थियो।

रेल्वे म्युजियम निर्माणसँगै वीरगन्जको ऐतिहासिक पहिचान थप उजागर हुने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *