Categories राजनीति

काँग्रेस छोड्दै एमाले प्रवेश, पर्सा–३ मा पाण्डेको प्रभाव बढ्दो

Advertisement

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रीय समन्वय कमिटीको महत्वपूर्ण बैठक सम्पन्न गरेको छ। पोखरीयास्थित पार्टी कार्यालयमा सम्पन्न बैठकमा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनबारे विस्तृत छलफल गरिएको हो।

बैठकमा एमाले पर्सा–३ का प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्सा–३ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाको ऊर्जा, अनुभवी नेताहरूको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका प्रस्तुत गर्दै रोजगारी सिर्जना, पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवालाई प्राथमिक एजेन्डा बनाइने स्पष्ट गर्नुभयो।

Advertisement

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष फर्मान मियाको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका प्रभावशाली नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, अनिल हजरा, अकलेश कुमार साह, कौशल साहलगायत नेताहरू सहभागी थिए।

बैठककै क्रममा नेपाली काँग्रेस निकटका तरूण दल पर्साका सचिव संतोष महतो, राष्ट्रिय मुक्ति पार्टीका सदाम हुसैनसहित पोखरीया नगरपालिका–८ मननपुरका खरदार मिया, औरन्जेव अंसारी, मयोनदिन मिया, रामनाथ सहनी, रामबाबु सहनी, मजिद राय, मोति मुखिया बिन, परशुराम मिश्रलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टी नेतृत्वले खादा ओढाएर स्वागत गरेको थियो।

सो अवसरमा नवप्रवेशी संतोष महतोलाई क्षेत्रीय युवा परिचालन कमिटीको संयोजकको जिम्मेवारी समेत प्रदान गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि हजराले पार्टीका उम्मेदवारहरूको जित सुनिश्चित गर्न एकताबद्ध, अनुशासित र जनकेन्द्रित अभियानमा लाग्न निर्देशन दिनुभयो। उहाँले पर्सा–३ मा देखिएको जनसमर्थन र संगठनात्मक मजबुतीले एमालेको जित सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।

बैठकले पर्सा–३ मा एमालेको संगठनात्मक तयारी थप सशक्त बन्दै गएको सन्देश दिएको छ। युवाको नेतृत्व, अनुभवी नेताहरूको मार्गदर्शन र जनताको बढ्दो भरोसासँगै पाण्डेको उम्मेदवारीलाई परिवर्तन र स्थायित्वको प्रतीकका रूपमा हेरिएको छ।

कार्यक्रममा पूर्व संविधानसभा सदस्य तथा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संतोष गिरीले गर्नुभएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *