वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा पुरानो राजनीतिक अभ्यास, नेताको उदासीनता र विकासप्रतिको बेवास्ताप्रति युवाहरूमा गहिरो असन्तुष्टि देखिएको छ । यही असन्तुष्टिको अभिव्यक्तिका रूपमा स्थानीय युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ आकर्षित हुँदै गएका छन् ।
रास्वपाका पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुसँग आयोजित अन्तरक्रियामा युवाहरूले पुस्तौंदेखि पुराना दललाई समर्थन गरे पनि आफ्नो वडा र गाउँको चौतर्फी विकास, रोजगारी, शिक्षा र आधारभूत सेवामा अपेक्षित काम नभएको गुनासो गरे ।
अन्तरक्रियामा सहभागी युवाहरूले भाषणमुखी राजनीति, चुनावका बेला मात्रै देखिने नेताहरू र जवाफदेहिता नहुने नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अब नयाँ सोच र काम गरेर देखाउने नेतृत्वको आवश्यकता रहेको बताए । उनीहरूले आगामी निर्वाचनमा घण्टी छापको पक्षमा माहोल बनाउँदै सक्रिय रूपमा अभियानमा लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उम्मेदवार कानुले युवाको असन्तुष्टि नै परिवर्तनको ऊर्जा भएको उल्लेख गर्दै भने, “युवाहरूको यो असन्तुष्टि नै रास्वपाको आधार हो । अब जनता मौन बस्दैनन्, जवाफ खोज्छन् ।”
स्थानीय युवा विकास कुशवाहका अनुसार युवाहरू अब भावनात्मक भाषणमा होइन, परिणाम दिने नेतृत्वमा विश्वास गर्न थालेका छन् । “सफा राजनीति, जवाफदेही नेतृत्व र वास्तविक परिवर्तनका लागि हाम्रो रोजाइ घण्टी छाप हो,” उनले भने ।
अन्तरक्रियामा स्थानीय अगुवा किशोरी पटेल, श्याम कुश्वाहा, मुकेश कुश्वाहालगायतको सहभागिता रहेको थियो । सहभागीहरूले पुराना दलप्रति देखिएको असन्तुष्टिले नै नयाँ राजनीतिक विकल्पको खोजी बढाएको दाबी गरे ।






