Categories समाचार

पर्सा–२ मा टेमानीको चुनावी दौड तीव्र, पलेटसहित अगुवा भेलामा सुने जनताको गुनासो

Advertisement

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीले चुनावी गतिविधिलाई तीव्रता दिएका छन्। घरदैलो, अगुवा भेला र अन्तरक्रियामार्फत जनतासँग प्रत्यक्ष संवादमा जुटेका टेमानीले प्रदेश सांसद तथा पूर्व मन्त्री रमेश पलेटसँगै अगुवा भेला कार्यक्रम सम्पन्न गरेका छन्।

उक्त कार्यक्रममा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। भेलामा जनताले शिक्षा, स्वास्थ्य, सडक, रोजगारी, खानेपानी तथा समग्र विकाससँग सम्बन्धित गुनासो र अपेक्षाहरू खुलेर राखेका थिए। टेमानी र पलेटले ती समस्याहरू ध्यानपूर्वक सुन्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा पूर्व मन्त्री पलेटले अशोक टेमानीको उम्मेदवारी पर्सा क्षेत्र नम्बर–२ का लागि सही विकल्प भएको बताए। उनले निजी क्षेत्रको लामो अनुभव, व्यवस्थापकीय क्षमता र जनताप्रतिको उत्तरदायी सोचका कारण टेमानीले संसदमा पुगेर प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे। “उहाँ जित्नुभयो भने क्षेत्रको आर्थिक गतिविधि र विकासले नयाँ गति लिन्छ,” पलेटले भने।

Advertisement

चुनावी अभियानकै क्रममा टेमानीले विकासमुखी, परिणाममुखी र जनउत्तरदायी राजनीति आफ्नो प्राथमिकता भएको स्पष्ट पारेका छन्। जनताको सुझाव र आवश्यकतालाई नीति निर्माणसँग जोड्दै अघि बढ्ने उनको भनाइ छ।

विगत तीन दशकभन्दा बढी समयदेखि निजी क्षेत्रका विभिन्न संगठनमार्फत सक्रिय रहँदै आएका टेमानी व्यवसायी तथा समाजसेवीका रूपमा परिचित छन्। वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका उनी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत यातायात तथा पारवहन समितिको अध्यक्षसमेत रहिसकेका छन्। उद्योग, व्यापार र रोजगारीका क्षेत्रमा बटुलेको अनुभवलाई सार्वजनिक सेवामा प्रयोग गर्ने उद्देश्यसहित राजनीतिमा आएको उनी बताउँछन्।

स्थानीयबासीहरूले पनि टेमानीको अनुभव, व्यवहारिक सोच र विकासप्रतिको प्रतिबद्धताप्रति आशा व्यक्त गर्दै उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *