वीरगञ्ज । मधेश र समग्र नेपालको विविध भाषा, संस्कृति र सामाजिक यथार्थलाई एकै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको मधेश साहित्य महोत्सव २०२६ ले तीन दिनसम्म साहित्यिक बहस, सांस्कृतिक प्रस्तुति र बौद्धिक संवादको उत्सव मनाउने भएको छ। उत्कर्ष नेपालद्वारा आयोजित यो महोत्सव माघ १५, १६ र १७ गते वीरगञ्जस्थित मधेश विश्वविद्यालय परिसरमा सम्पन्न हुँदैछ।
पहिलो दिन: गाउँ केन्द्रित बहस र सांस्कृतिक प्रस्तुति
महोत्सवको पहिलो दिन उद्घाटन सत्रमार्फत औपचारिक सुरुआत हुनेछ। उद्घाटन सत्रमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन् भने वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख तथा महोत्सवका संरक्षक राजेशमान सिंहको अध्यक्षता रहनेछ। उद्घाटन सत्र बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ।
त्यसपछि ‘गाउँः स्मृति, मिथक र यथार्थ’ विषयमा बीज पत्र प्रस्तुत गर्दै डा. भास्कर गौतमले मन्तव्य राख्नेछन्।
पहिलो सत्रमा ‘गाउँका युवाः पलायन, नीति (Policy) र विकल्प’ विषयमा बसन्त कुमार कुशवाहा, डा. भोगेन्द्र झा र डा. सलोनी प्रधान सिंहले धारणा राख्नेछन् भने सत्रको सहजकर्ता रितेश त्रिपाठी रहनेछन्।
दोस्रो सत्रमा ‘गाउँः लोकतन्त्र र सत्ता’ विषयमा सुरेश ढकाल, डा. सुचेता प्याकुरेल र डा. सबिन निङ्ग्लेखुले बोल्नेछन्, जसको सहजकर्ता गणेश लाठ रहनेछन्।
तेस्रो सत्र ‘गाउँः स्मृति र इतिहास’ डा. गोपाल ठाकुर, डा. अन्जय मिश्रा, डा. त्रिभुवन बरई र राकेश मिश्र सहभागी हुनेछन् भने सत्रको सहजकर्ता डा. शुष्मा तिवारी रहनेछिन्।
पहिलो दिनको अन्त्यमा ‘नृत्य नवरंग’ शीर्षकअन्तर्गत सांस्कृतिक प्रस्तुति आयोजना गरिनेछ।
दोस्रो दिन: शिक्षा, विकास र सञ्चारमाथि संवाद
दोस्रो दिन बिहान १० बजे ‘शिक्षा, स्वास्थ्य र समानता’ विषयक पहिलो सत्रबाट कार्यक्रम सुरु हुनेछ। यस सत्रमा डा. चित्रंजन साह, अरविन्द लाल कर्ण, आर्या रावल र आमोद प्याकुरेल वक्ताका रूपमा रहनेछन् भने सहजकर्ता सूर्यनारायण वि.क. रहनेछन्।
त्यसपछि ‘गाउँः संघर्ष र संरचना’ विषयक दोस्रो सत्रमा विजयकान्त कर्ण, हरि शर्मा र राम पुकार महराले विचार राख्नेछन्। सत्रको सहजकर्ता डा. भास्कर गौतम हुनेछन्।
तेस्रो सत्र ‘गाउँः विकास बनाम विनाश’ मा विक्रम यादव, मधुकर उपाध्याय र जीवन क्षेत्री सहभागी हुनेछन्, जसको सहजकर्ता राजेन्द्र सिंह राजपुत रहनेछन्।
चौथो सत्र ‘गाउँका खबर, खबरका गाउँ’ विषयमा ओमप्रकाश खनाल, जगदीश शर्मा र माधवी कर्णले बोल्नेछन् भने सहजकर्ता सलमा खातुन रहनेछिन्।
पाँचौं सत्र ‘गाउँ: काल र आज’ मा प्रमोद पाण्डे, शिवनन्दन जैसवाल, आनन्द गुप्ता र पवन राजवंशी वक्ताका रूपमा सहभागी हुनेछन्। सत्रको सहजकर्ता रिना चौधरी रहनेछिन्।
दोस्रो दिन बहुभाषिक कवि गोष्ठी, नेटुवा नाच, गीत तथा नाटक प्रस्तुति सहित सम्पन्न हुनेछ।
तेस्रो दिन: काव्य, साहित्य र समापन समारोह
तेस्रो दिन काव्यशालाबाट कार्यक्रम सुरु हुनेछ, जसको अध्यक्षता प्रकाश थारुले गर्नेछन् भने सञ्चालन श्याम सर्राफले गर्नेछन्।
‘गाउँ बन्दै शहर, शहर बन्दै गाउँ’ शीर्षकको प्रथम सत्रमा सीके लालको एकल प्रस्तुति रहनेछ।
त्यसपछि ‘भोजपुरी साहित्यमा गाउँ’ विषयक दोस्रो सत्रमा डा. हरिन्द्र हिमकर, उपेन्द्र सहनी र दिनेश गुप्ताले विचार राख्नेछन्। सत्रको सहजकर्ता प्रियंका पाण्डे रहनेछिन्।
समापन समारोहमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्ण प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख तथा महोत्सवका संरक्षक सिंहको अध्यक्षता रहनेछ। समापन अवसरमा होरी गान तथा कल्पना पटवारीसहित स्थानीय कलाकारहरूको विशेष सांगीतिक साँझ आयोजना गरिनेछ।
आयोजक उत्कर्ष नेपालका अनुसार मधेश साहित्य महोत्सव २०२६ अब एउटा कार्यक्रम मात्र नभई पहिचान, समावेशिता र सहअस्तित्वको साझा सांस्कृतिक आन्दोलनको रूपमा अघि बढिरहेको छ। आयोजकले सम्पूर्ण सञ्चारमाध्यम, साहित्यप्रेमी, युवा, कलाकार र नागरिक समाजलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।






