वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, रहरियाडीमा बुधबार बिहान अज्ञात समूहको आक्रमणबाट आमा–छोराको ज्यान गएको छ। सोही घटनामा परिवारका अन्य तीन सदस्य घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ३ बजे धारिलो हतियार प्रयोग गरी ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवीको हत्या गरिएको हो। आक्रमणपछि घाइते तीन जनालाई परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाको कारण र संलग्न व्यक्तिबारे खुल्न नसकेको बताउँदै जिल्ला प्रहरी कार्यालय बाराले घटनास्थल सुरक्षित गरी गहिरो अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले स्थानीयसँग सोधपुछ तथा प्राविधिक आधारमा समेत छानबिन अघि बढाएको छ।






