Categories समाचार

रामगढवा र बगहीमा टेमानीद्वारा कार्यकर्ता भेटघाट, विकास र रोजगारीको प्रतिबद्धता

Advertisement

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीले चुनावी गतिविधिलाई थप तीव्रता दिएका छन्। यही क्रममा टेमानीले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ रामगढवा र वडा नम्बर–२८ बगहीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा स्थानीय कार्यकर्ता, अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। भेटघाटका क्रममा स्थानीयहरूले क्षेत्रका विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीलगायत विषयमा आफ्ना गुनासो, सुझाव र अपेक्षाहरू खुलेर राखेका थिए। टेमानीले ती सबै विषय ध्यानपूर्वक सुन्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार टेमानीले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। उनले निजी क्षेत्रको लामो अनुभवलाई सार्वजनिक सेवामा प्रयोग गर्दै पर्सा क्षेत्र नम्बर–२ को समग्र विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा आफू केन्द्रित रहने स्पष्ट पारे।
“जनतासँग प्रत्यक्ष संवाद गरेर उनीहरूको समस्या बुझ्नु नै मेरो प्राथमिकता हो। तपाईंहरूको साथ र विश्वास पाए परिणाम देखिने, विकासमुखी र इमानदार राजनीति गरेर देखाउँछु,” टेमानीले भने।

Advertisement

उनले कार्यकर्ता तथा समर्थकहरूलाई जनताको बीचमा पुगेर सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्दै चुनावलाई मर्यादित, शान्त र विकास केन्द्रित बनाउनु पर्ने धारणा राखे।

विगत तीन दशकभन्दा बढी समयदेखि निजी क्षेत्रका विभिन्न संगठनमार्फत सक्रिय रहँदै आएका टेमानी व्यवसायी तथा समाजसेवीका रूपमा परिचित छन्।

रामगढवा र बगहीमा सम्पन्न भेटघाटपछि स्थानीय कार्यकर्ता तथा बासिन्दाहरूले टेमानीको सरल स्वभाव, व्यवहारिक सोच र विकासप्रतिको प्रतिबद्धताप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। यससँगै पर्सा क्षेत्र नम्बर–२ मा जसपा नेपालको चुनावी अभियान थप सक्रिय बन्दै गएको देखिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *