वीरगंज । परवानीपुर गाउँपालिका–१ रहरियाडमा बुधबार बिहान एकै परिवारका आमा–छोराको नृशंस हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २८ वर्षीय रामेश्वर मण्डल र उनकी ४६ वर्षीया आमा सुमिन्त्रा देवीको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको थियो। सोही घटनामा परिवारका अन्य तीन सदस्य घाइते भएका थिए।
उक्त घटनामा मृतक रामेश्वरकी २३ वर्षीया पत्नी मनिता देवी मण्डल र उनका प्रेमी बाराको प्रसौनी गाउँपालिका–७ बन्जरियाका धमेन्द्र महतो पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा मनिताको परपुरुषसँग प्रेम सम्बन्ध रहेको र सोही कारण योजनाबद्ध रूपमा हत्या गरिएको प्रहरीको अनुमान छ।
प्रहरीका अनुसार मनिता र उनका प्रेमी धमेन्द्रले मिलेर पति रामेश्वर तथा सासु सुमिन्त्रा देवीको हत्या गरेको खुलेको छ। घटनामा मनिताका ससुरा ५२ वर्षीय जगरुप महतो र नन्द २२ वर्षीया रिना कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दिएको जानकारी अनुसार धमेन्द्र महतो वैदेशिक रोजगारको सिलसिलामा दुबईमा कार्यरत थिए। माघ १२ गते काठमाडौँ आइपुगेपछि उनले मनितासँग सम्पर्क गरी उक्त घटना गराएको खुल्न आएको छ।
पक्राउ परेका मनिता देवी मण्डल र धमेन्द्र महतोलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए।






