वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा उम्मेदवार अशोक टेमानीले वीरगञ्ज महानगरपालिका वडा नं. १७ स्थित श्री दार देवी माईको मन्दिरमा पूजा–अर्चना गर्दै आज चुनावी घरदैलो कार्यक्रमको शुभारम्भ गरेका छन्।
चुनावी अभियानकै क्रममा वीरगञ्ज महानगरपालिका–१७ मा टेमानीको पक्षमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। उक्त भेलालाई सम्बोधन गर्दै उम्मेदवार टेमानीले आफू जनताको बीचबाट उठेको उम्मेदवार भएको उल्लेख गर्दै जनताको विश्वास, साथ र समर्थनकै आधारमा चुनाव जित्ने दृढ विश्वास व्यक्त गरे।
टेमानीले विगतमा व्यवसायीहरुको निर्वाचनमा निर्वाचित भएर जनताका पक्षमा काम गरेको अनुभव स्मरण गराउँदै भने, “अहिलेसम्म मैले कुनै पनि चुनाव हारेको छैन। जनताको साथले यसपटक पनि पर्सा–२ बाट विजयी भएर संघीय संसदमा जनताको आवाज मजबुत रूपमा उठाउनेछु।” उनले विकास, सुशासन, रोजगारी र मधेशको अधिकार सुनिश्चित गर्नु नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताए।
कार्यक्रममा जसपा नेपालकी पूर्व मन्त्री करिमा बेगमसहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेताहरूले पर्सा क्षेत्र नं. २ मा जसपा नेपालका उम्मेदवार अशोक टेमानीलाई जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अगुवा कार्यकर्ता भेलापछि टेमानीले घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई निरन्तरता दिने जानकारी दिए।






