Categories समाचार

मधेश साहित्य महोत्सव २०२६ आज समापन हुँदै, विशेष सत्र र भोजपुरी लोकसंगीतको आकर्षण

Advertisement

वीरगञ्ज । वीरगञ्जस्थित मधेश विश्वविद्यालय परिसरमा माघ १५ गतेदेखि सञ्चालन भइरहेको मधेश साहित्य महोत्सव २०२६ आज तेस्रो तथा अन्तिम दिन विभिन्न विशेष सत्र, काव्यशाला र सांस्कृतिक प्रस्तुतिसहित समापन हुँदैछ।

‘गाउँ मन्थनः सपनाको बेर्ना जोगाउन साहित्य’ भन्ने मूल नारासहित आयोजित महोत्सवको यो दोस्रो संस्करण साहित्य, समाज र गाउँ केन्द्रित संवादको साझा मञ्चका रूपमा स्थापित भएको छ।

Advertisement

आज बिहान ९ बजेदेखि १०:३० बजेसम्म काव्यशालाबाट तेस्रो दिनको कार्यक्रम सुरु हुनेछ। काव्यशालाको अध्यक्षता प्रकाश थारुले गर्नुहुनेछ भने कार्यक्रम सञ्चालन श्याम सर्राफले गर्नुहुनेछ।

Advertisement

त्यसपछि १०:३० देखि ११:३० बजेसम्म ‘गाउँ बन्दै शहर, शहर बन्दै गाउँ’ शीर्षकको प्रथम सत्रमा वरिष्ठ विश्लेषक सीके लालले एकल प्रस्तुति दिने कार्यक्रम रहेको छ।

११:३० देखि १२:३० बजेसम्म सञ्चालन हुने दोस्रो सत्र ‘भोजपुरी साहित्यमा गाउँ’ विषयमा केन्द्रित रहनेछ। यस सत्रमा डा. हरिन्द्र हिमकर, उपेन्द्र सहनी र दिनेश गुप्ताले आफ्ना विचार प्रस्तुत गर्नेछन् भने सत्रको सहजीकरण प्रियंका पाण्डेले गर्नेछिन्।

महोत्सवको समापन समारोह १२:३० देखि २ बजेसम्म आयोजना हुनेछ। समापन समारोहमा प्रदेश प्रमुख माननीय सुरेन्द्र लाभ कर्ण प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख तथा मधेश साहित्य महोत्सव २०२६ का संरक्षक राजेशमान सिंहको अध्यक्षता रहनेछ। समापन अवसरमा होरी गान पनि प्रस्तुत गरिनेछ।

त्यसैगरी, आजको कार्यक्रमको विशेष आकर्षणका रूपमा दिउँसो ४:३० देखि राति ८:३० बजेसम्म भोजपुरीकी चर्चित लोक गायिका कल्पना पटवारीसहित स्थानीय कलाकारहरूको विशेष सांगीतिक साँझ आयोजना गरिएको छ। उक्त कार्यक्रम वीरगञ्जको आदर्शनगरस्थित पुरानो बस पार्क (दियालो होटल अगाडि) मा हुनेछ।

मधेश साहित्य महोत्सव २०२६ ले तीन दिनसम्म साहित्य, संस्कृति र सामाजिक बहसलाई एकै मञ्चमा जोड्दै मधेशको पहिचान, आवाज र सपनालाई सशक्त रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *