वीरगंज । वीरगंज महानगरपालिकाको आदर्शनगरस्थित लक्ष्मी बैंक चोकमा आजदेखि नयाँ ‘जुस फ्याक्ट्री क्याफे’ सञ्चालनमा आएको छ । सिजन तथा बेसिजनका विविध प्रकारका फलफूलबाट तयार गरिएका ताजा जुसहरू उपलब्ध गराउने उद्देश्यका साथ क्याफे सञ्चालनमा ल्याइएको हो ।
क्याफेका सञ्चालक सुरज वर्णवालका अनुसार क्याफेमा विभिन्न प्रकारका फ्रुट जुसका साथै स्यान्डविच, स्वीट कर्न, मग्गी, ओट्स, पिज्जा, चिया, ड्राइ फ्रुट्स, सातु लगायतका खाद्य सामग्रीहरू पनि उपलब्ध छन् । स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ र गुणस्तरीय सामग्री प्रयोग गरिएको उनले बताए ।
क्याफेको आज एक कार्यक्रमकाबीच वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै महानगर प्रमुख सिंहले युवाहरू स्वरोजगारतर्फ आकर्षित हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफ्नै पहलमा व्यवसाय सुरु गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्दै यस्ता उद्यमले रोजगारी सिर्जना गर्ने भएकाले समाज र अर्थतन्त्रका लागि सकारात्मक योगदान पुग्ने बताउनुभयो ।
स्थानीय युवाहरूको लगानी र पहलमा सञ्चालनमा आएको क्याफेले केही व्यक्तिलाई रोजगारीको अवसर पनि प्रदान गर्ने जनाइएको छ । आधुनिक स्वाद र स्वास्थ्यप्रति सचेत ग्राहकलाई लक्षित गरी सञ्चालनमा आएको फ्रुट फ्याक्ट्री क्याफेले वीरगंजको क्याफे संस्कृतिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।






