बीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. २५ सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय उद्घाटन गरिएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी खोलिएको उक्त कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय युवाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले युवामा बढ्दो परिवर्तनको चाहनाकै कारण अहिलेको निर्वाचन सम्भव भएको बताए। उनले पैसाको होइन, युवाको साथ, विश्वास र सक्रियताकै बलमा चुनाव जित्ने दाबी गर्दै पुराना राजनीतिक शैलीबाट देशलाई अघि बढाउन नसकिने स्पष्ट पारे।
कानुले पर्सा–२ का पुल अभाव, कमजोर सञ्चार पहुँच, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्यालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको उल्लेख गरे। कार्यक्रममा सहभागी युवाहरूले पुरानो राजनीतिप्रति असन्तुष्टि जनाउँदै पारदर्शी, जवाफदेही र नयाँ सोचमा आधारित राजनीतिको आवश्यकता रहेको बताएका छन्।






