वीरगञ्ज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले सोमबार वीरगञ्ज महानगरपालिका–२८ इनरवामा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। घरदैलोका क्रममा यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, सडक, कृषि लगायतका क्षेत्रका समस्या र आवश्यकताबारे जानकारी लिइन्।
स्थानीयसँगको भेटघाटमा यादवले क्षेत्रको समग्र विकासका लागि आफू राजनीतिमा सक्रिय भएको स्पष्ट पारिन्। यसअघि निर्वाचित जनप्रतिनिधिहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेकै कारण आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ थियो। “जनताले चाहेको विकास र परिवर्तनका लागि अब इमानदार नेतृत्व आवश्यक छ,” उनले भनिन्।
घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्जका पूर्वमेयर विजय सरावगी, पार्टीका वीरगञ्ज महानगर सचिव एवं कार्यवाहक अध्यक्ष लियाकत अलि, लेखा समितिका संयोजक अजय साह, सह–सचिव जयनारायण सिंह कुर्मी, नेतृ सिता लामा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उम्मेदवारसँग प्रत्यक्ष संवादको अवसर पाउँदा स्थानीय बासिन्दाहरूले खुशी व्यक्त गरे। उनीहरूले शिक्षा, स्वास्थ्य सेवा, सडक पूर्वाधार र कृषि समस्यामा ध्यान दिन यादवसँग आग्रह गरेका थिए। जवाफमा यादवले यी सबै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा महिलाहरूको सक्रिय सहभागिता पनि देखिएको थियो। यादवले महिलालाई राजनीतिमा अग्रसर गराउने र समुदायमा सशक्त बनाउने आफ्नो अठोट दोहोर्याउँदै भनिन्, “महिला सहभागिताबिना समावेशी र दिगो विकास सम्भव हुँदैन।”






