वीरगञ्ज। पर्साको वीरगञ्जमा नामुद तस्करको अड्डामा छापा मार्न पुगेका सशस्त्र प्रहरीमाथि भएको कुटपिट घटनाले राज्यको सुरक्षा संयन्त्रको वास्तविक अवस्था उजागर गरेको पूर्वडीआईजी रमेश खरेलले टिप्पणी गरेका छन्।
खरेलले भनेका छन्, “राज्यको उपस्थिती कागजमा मात्रै देखिन्छ, तर जमिनमा शक्ति गैरकानुनी गिरोहले चलाइरहेको छ। जब कानुन कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुन्छ, तब सर्वसाधारण नागरिकले न्याय र सुरक्षाको अनुभूति कसरी गर्ने?”
उनका अनुसार यो घटना आकस्मिक कमजोरी नभई वर्षौँदेखिको राजनीतिक संरक्षण, संस्थागत लापरबाही र दण्डहीनताको परिणाम हो। सीमावर्ती क्षेत्रमा तस्करी अब अपराध होइन, ‘व्यवसाय’ जस्तो बनेको र अपराधीहरू ढुक्क भएर खुलेआम हिँड्ने अवस्था सिर्जना भएको खरेलको भनाइ छ।
“आज सशस्त्र प्रहरीमाथि हात उठाउनेहरू यदि कारबाहीको दायरामा आएनन् भने भोलि व्यापारी, पत्रकार वा सामान्य नागरिकमाथि पनि आक्रमण गर्न उनीहरूलाई कुनै डर रहने छैन,” खरेलले चेतावनी दिएका छन्।
पूर्वडीआईजी खरेलले औपचारिक विज्ञप्ति निकालेर वा सरुवा गरेर मात्र समस्या समाधान नहुने स्पष्ट पारेका छन्। उनका अनुसार घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने, राजनीतिक संरक्षणको जालो तोड्नुपर्ने र सीमामा खटिएका सुरक्षाकर्मीलाई स्पष्ट आदेश, पर्याप्त स्रोतसाधन र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता छ।
“कानुनको शासन कागजमा होइन, व्यवहारमा देखिनुपर्छ,” उनले भने, “नत्र राज्यप्रति नागरिकको विश्वास दिनप्रतिदिन क्षय हुँदै जानेछ।”







