वीरगञ्ज । पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। तीमध्ये पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट युवा उद्यमी रुपेश पाण्डे एमालेका तर्फबाट उम्मेदवार बनेका छन्।
४९ वर्षीय पाण्डे काठमाडौंस्थित आरपी ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक हुन्। उनले दर्जनौँ अन्तर्राष्ट्रिय ब्रान्डका कपडा, जुत्ता तथा एक्सेसरीज नेपाल भित्र्याउने व्यवसाय गर्दै आएका छन्। व्यवसायिक क्षेत्रमा सफल रहे पनि उनी हालै मात्र सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।
उनका बुबा बृजमोहन पाण्डे २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट पकहाँ मैनपुर गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष निर्वाचित भएका थिए। परिवार राजनीतिक पृष्ठभूमिमा रहे पनि रुपेश स्वयं भने यसअघि राजनीतिप्रति खासै रुचि नराख्ने व्यक्ति थिए।
तर, पछिल्ला दुई निर्वाचनमा पर्सा–३ बाट निर्वाचित सांसदहरू भ्रष्टाचारको आरोपमा मुछिँदै कार्यकाल पूरा गर्न नसकेपछि क्षेत्रको विकास प्रभावित भएको र जनतामा निराशा बढेको पाण्डेको बुझाइ छ। पुख्र्यौली गाउँघरमा आउजाउ गर्ने क्रममा विकास निर्माणका काम लथालिङ्ग भएको, जनताका समस्या सुन्ने र समाधान गर्ने भरपर्दो जनप्रतिनिधिको अभाव देखेपछि उनलाई राजनीतिमा प्रवेश गर्ने प्रेरणा मिलेको उनी बताउँछन्।
त्यसपछि उनले काठमाडौंको व्यवसायलाई सीमित गर्दै गाउँमै बढी समय बिताउन थाले। गाउँ–गाउँ पुगेर स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै भुइँतहका समस्या बुझ्ने र ती समस्या डायरीमा टिपोट गर्ने कार्यमा उनी सक्रिय भए। जनताको दुःख, पीडा र बेथितिहरू नजिकबाट बुझ्दै जाँदा राजनीतिप्रतिको लगाव बढ्दै गएको र अन्ततः पर्सा–३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने निर्णयमा पुगेको पाण्डे बताउँछन्।
चुनाव लड्ने निर्णय गरे पनि कुन दलबाट भन्ने विषयमा उनी केही समय अन्योलमा थिए। जेन–जी आन्दोलनपछि निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न दलबाट प्रस्ताव आए पनि उनले हतार नगरेको बताए। अन्ततः माघ ४ गते एमाले रोज्ने निर्णय गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पर्सा–३ को टिकट प्राप्त गरेका हुन्।
माघ ६ गते मनोनयन दर्ता गरेपछि पाण्डे अहिले पर्सा–३ मा घरदैलो अभियान तथा चुनावी कार्यक्रमहरूमा व्यस्त छन्। पार्टीका विभिन्न कार्यक्रम, अगुवा कार्यकर्तासँगको भेटघाट र मतदातासँगको संवादले आफू थप उत्साहित भएको उनी बताउँछन्।
मतदातासँगको भेटमा पाण्डे भन्छन्, “हिजो कसले जित्यो र के गर्यो भन्ने कुरामा म अल्झिँदिनँ। म ठूला भाषण र खोक्रा आश्वासन दिन पनि चाहन्नँ। भुइँमान्छेका भुइँतहका समस्या नै मेरो प्राथमिकता हुन्, र जितेपछि पनि ती नै मेरो कार्यसूचीमा रहनेछन्।”
उनले पर्सा–३ का जनता वर्षौँदेखि नारा, आश्वासन र वाचामा ठगिँदै आएको उल्लेख गर्दै अब फेरि त्यस्तै गर्ने कार्य महापाप हुने बताए। “यही चेतनाका साथ म जनतामाझ पुगेको छु। जनताबाट पाइरहेको आशिर्वादले मेरो मनोबल र ऊर्जा बढेको छ। बाँकी मूल्यांकन त फागुन २१ गते जनता जनार्दनले नै गर्नेछन्,” पाण्डेले भने।






