अमित अग्रवाल
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका लागि रुपेश कुमार पाण्डेयले चुनावी अभियानलाई तीव्र बनाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवारी दिएका पाण्डेयले बिहीबार लहावरथकरि र मैनपुर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरे।
घरदैलो अभियानका क्रममा पाण्डेयले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र सुझाव संकलन गर्दै विकास, रोजगारी सृजना, कृषि आधुनिकीकरण तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याए। उनले क्षेत्रको दीर्घकालीन समृद्धिका लागि स्पष्ट योजना र सक्षम नेतृत्व आवश्यक रहेको बताए।
स्थानीयवासीहरूले पनि विकासमुखी एजेण्डालाई समर्थन जनाउँदै क्षेत्रको समग्र उन्नतिका लागि प्रभावकारी प्रतिनिधित्वको अपेक्षा व्यक्त गरेका छन्।
पाण्डेयले जनताको उत्साहजनक सहभागिताले आफू थप जिम्मेवार र प्रेरित बनेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि घरदैलो र जनसम्पर्क अभियानलाई निरन्तरता दिने बताए। एमालेका नेताहरूका अनुसार पर्सा–३ मा पार्टीको संगठन विस्तारसँगै चुनावी माहोल क्रमशः सुदृढ बन्दै गएको छ।






