वीरगन्ज । वीरगन्ज महानगरपालिका–२४ निवासी अभिनेता विजय पटेल (विजय टाइसेन) ले बलिउड अभिनेता राजपाल यादव लाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। फिल्म क्षेत्रमा ‘विजय टाइसेन’ नामले परिचित पटेलले यादवलाई ५० हजार रुपैयाँ सहयोग गर्ने इच्छा सार्वजनिक गर्दै कलाकारहरूबीचको एकता र सहकार्यको उदाहरण प्रस्तुत गरेका हुन्।
बलिउड अभिनेता राजपाल यादव ९ करोड भारतीय रुपैयाँ ऋण र चेक बाउन्ससम्बन्धी मुद्दामा अदालतको आदेशपछि जेल परेका छन्। उनले गत बिहीबार दिल्लीस्थित तिहाड जेल मा आत्मसमर्पण गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार यादव आर्थिक तथा कानुनी संकटमा परेपछि फिल्म उद्योगका विभिन्न कलाकार र शुभेच्छुकहरूले उनलाई सहयोग गर्ने घोषणा गरिरहेका छन्।
यसै क्रममा नेपालका वीरगन्ज बाट विजय टाइसेनले सहयोगको हात अघि बढाएका हुन्। भारतीय कलाकारहरूसँगै नेपालबाट समेत सहयोगको इच्छा प्रकट हुनुले सीमा नाघेको कलाकारिता सम्बन्ध र मानवीय सहानुभूतिलाई उजागर गरेको छ।
करिब १५ वर्षदेखि निरन्तर संघर्षरत विजय टाइसेनले प्रारम्भिक दिनमा फाइटरको भूमिकाबाट अभिनय यात्रा सुरु गरेका थिए। अहिले उनी भोजपुरी तथा नेपाली फिल्म उद्योगका सफल अभिनेता मानिन्छन्। उनले मिशन चाइना, वन म्यान आर्मी, जय शम्भु, माही, हिरोगिरी, जान कहे बनगइलु, टिम ४ र जब प्यार किया तो डरना क्या जस्ता फिल्ममा अभिनय गरिसकेका छन्। अभिनयसँगै उनी ‘एक्सन मुभिज प्रोडक्सन’ का सञ्चालकसमेत हुन्।






