वीरगञ्ज । ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पर्सामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत २६ गते बिहान करिब १०:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरस्थित रुन्चे मदन भनिने मदन गुप्ताको गोदाममा भन्सार छली गरी चोरी पैठारी गरिएका सामानहरू अनधिकृत रूपमा भण्डारण गरिएको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल गुल्म हे.क्वा. वीरगञ्ज (१३ नं. गण, पर्सा) र वीरगञ्ज भन्सार कार्यालयका तथ्याङ्क अधिकृतसहितको संयुक्त टोली खटिएको थियो।
संयुक्त टोली गोदाममा पुग्दा केही व्यक्तिहरूले प्रहरी टोलीलाई घेरा हाल्दै ढुंगा, मुडा र भाठा प्रहार गर्नुका साथै सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज–१० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, वीरगञ्ज–१ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, वीरगञ्ज–१० का २० वर्षीय कुन्जन सर्राफ, भारत बिहार मोतीहारी थाना रक्सौलका ४० वर्षीय प्रभु महतो, भारत भागलपुर पोडियाका ३५ वर्षीय पृतम कुमार चौधरी तथा पर्सा विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह रहेका छन्।
उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालत बाट ७ (सात) दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरि बहादुर बस्नेतले बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।






