Categories समाचार

पर्सा–३ मा आरोप र एजेन्डाबीच प्रतिस्पर्धा : रूपेश पाण्डे भन्छन्, “तथ्यले नै जित्छ”

Advertisement

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ यतिबेला चुनावी सरगर्मीको केन्द्र बनेको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुद्दा, नेतृत्व र विश्वासको प्रश्नले यहाँको राजनीतिक बहसलाई नयाँ रूप दिएको छ।

यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का युवा उम्मेदवार रूपेश कुमार पाण्डे परिवर्तनमुखी एजेन्डासहित मैदानमा छन्। तर चुनावी प्रतिस्पर्धासँगै उनीविरुद्ध विभिन्न आरोप प्रत्यारोप पनि सार्वजनिक भइरहेका छन्। विशेषगरी सामाजिक सञ्जाल र केही अनलाइन माध्यममार्फत “ग्रिन कार्ड” र “बैंक कालोसूची” सम्बन्धी विषयलाई लिएर बहस चर्किएको छ।

Advertisement

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले आफू कुनै पनि बैंकको कालोसूचीमा नरहेको स्पष्ट पारे। उनले आर्थिक तथा व्यक्तिगत विषयलाई चुनावी हतियार बनाइएको आरोप लगाउँदै मतदातालाई तथ्यमा आधारित निर्णय गर्न आग्रह गरे।
“राजनीति आरोपको होइन, दृष्टिकोण र कार्यक्रमको प्रतिस्पर्धा हुनुपर्छ,” उनले भने।

Advertisement

पाण्डे समर्थकहरूका अनुसार पर्सा–३ मा देखिएको युवा लहर र परिवर्तनको मागले परम्परागत शक्ति संरचनामा दबाब सिर्जना गरेको छ। २०४७ सालदेखि निरन्तर प्रभावमा रहेका पुराना राजनीतिक अभ्यासलाई चुनौती दिने प्रयासका रूपमा यो उम्मेदवारीलाई हेरिएको छ।

उता स्थानीय मतदाताहरू भने चुनावी बहस व्यक्तिगत आरोपभन्दा पनि विकासका मुद्दामा केन्द्रित हुनुपर्ने बताउँछन्। पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधार जस्ता विषयलाई प्राथमिकतामा राख्दै उम्मेदवारहरूले स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुपर्ने उनीहरूको धारणा छ।

फागुन २१ गते हुने निर्वाचनले पर्सा–३ मा केवल प्रतिनिधि चयन गर्ने मात्र होइन, नयाँ पुस्ताको नेतृत्वप्रति जनविश्वास कति मजबुत छ भन्ने संकेत पनि दिनेछ। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा मतदाताको निर्णय नै अन्तिम निर्णायक बन्ने देखिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *