वीरगंज । फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले चुनावी अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा उम्मेदवार रूपेश कुमार पाण्डे यतिबेला गाउँ गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।
एमालेका अनुसार उम्मेदवार पाण्डेको पक्षमा माहोल अनुकूल बन्दै गएको छ। विशेषगरी सखुवा प्रसौनी गाउँपालिका–२ मा सम्पन्न घरदैलो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको जनाइएको छ। घरदैलोका क्रममा पाण्डेले विकास, रोजगारी र सुशासनलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे।
पार्टी अभियानलाई थप बल दिन प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रमोद जयसवालसमेत सक्रिय रूपमा मैदानमा उत्रिएका छन्। क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका जयसवालले संगठन सुदृढीकरणसँगै घरदैलो, भेटघाट र प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्। स्थानीय नेताहरूका अनुसार उनको सक्रियताले अभियानलाई रणनीतिक र व्यवस्थित बनाएको छ।
पाण्डेले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा स्वास्थ्य सुधार र युवालाई लक्षित रोजगारी सिर्जनाका कार्यक्रम अघि सारेका छन्। ती एजेन्डा व्यवसायी, युवा तथा शिक्षित समुदायबीच आकर्षणको केन्द्र बन्दै गएको दाबी एमालेको छ।
घरदैलो कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालसहित स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पाण्डेलाई विकास र पारदर्शिताको मुद्दामा अडिग रहन सुझाव दिएका थिए।






