Categories समाचार

वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टेको बढ्दो प्रकोप नियन्त्रण गर्न ‘पम्प स्प्रे’ मार्फत विषादी छर्ने अभियान सुरु गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण फैलिन नदिन यो अभियान सञ्चालन गरिएको बताउनुभयो। चिसो मौसम अन्त्य हुँदै गर्मी सुरु भएसँगै लामखुट्टेको संख्या बढ्न थालेपछि नियन्त्रणात्मक उपायस्वरूप विषादी छर्ने कार्य अघि बढाइएको उहाँले स्पष्ट गर्नुभयो।

Advertisement

बिहीबारदेखि सुरु भएको विषादी छर्ने कार्य दोस्रो दिन घण्टाघरदेखि पावरहाउस चोकसम्मको मुख्य नाला तथा पानी जमेको खाली स्थानहरूमा केन्द्रित गरिएको थियो। महानगर प्रमुखको निर्देशनमा बिहान १० बजेदेखि नै पम्पमा विषादीयुक्त घोल तयार गरी नाला तथा पानी जम्ने स्थानहरूमा छर्किने कार्य भइरहेको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले जानकारी दिनुभयो।

Advertisement

उहाँका अनुसार महानगरका ३२ वटै वडामा दैनिक रूपमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने कार्य सञ्चालन भइरहेको छ। वीरगंजमा चिसो र गर्मी मौसममा लामखुट्टेको अत्यधिक प्रकोप देखिने भएकाले महानगरले वर्षमा दुईपटक नियमित रूपमा विषादी छर्ने कार्य गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *