Categories धर्म/संस्कृति

होला मोहल्ला, होली, फगुआ तथा फागु पूर्णिमा : रंग, वीरता र सांस्कृतिक चेतनाको समन्वय

Advertisement

वीरगंज । ऋतु परिवर्तन सँगै आउने वसन्त केवल मौसमको बदलाव होइन; यो प्रकृतिको पुनर्जन्म हो। सुक्खा हाँगामा नयाँ-नयाँ कोपिला, खेतबारीमा हरियाली, आकाशमा स्वच्छता, र मानव मनमा उमंग—यी सबैको संयुक्त अभिव्यक्ति हो फागु पूर्णिमा, होली वा फगुआ।

रंगहरुको यो पर्व जीवनलाई अर्थपूर्ण, महत्वपूर्ण र सौन्दर्यमय बनाउने अवसर हो। जीवनमा यदि रंग नहुने भए संसार कति निस्तेज हुन्थ्यो । प्रसिद्ध भारतीय चलचित्र शोले मा स्वर्गीय संजीव कुमार र जया बच्चन बीचको संवादले पनि जीवनमा रंगको दार्शनिक महत्वलाई गहिराइमा प्रस्तुत गरेको छ।

Advertisement

धार्मिक आधार सत्यको विजय
सनातन परम्परामा भगवान श्रीकृष्णको वृन्दावन र गोपिनीहरुसँगको होली विश्वप्रसिद्ध छ। हिरण्यकश्यपु, भक्त प्रह्लाद र होलिकाको कथा असत्य माथि सत्यको विजयको शाश्वत उदाहरण हो। यसरी होली केवल रंगको खेल होइन, यो अधर्म माथि धर्म, अहंकार माथि भक्ति, र अन्याय माथि न्यायको प्रतीक हो।

Advertisement

होलीको भोलिपल्ट सिख समुदायले “होला मोहल्ला” मनाउने परम्परा छ।
“होला” शब्द संस्कृतको “होल” वा “हल्ला” सँग सम्बन्धित मानिन्छ, जसको अर्थ आक्रमण वा युद्ध पूर्व तयारी हो। “मोहल्ला” ले संगठित अभ्यास, सैनिक प्रदर्शन वा रणनीतिक अभ्यास जनाउँछ।

सत्रौं शताब्दीको उत्तरार्ध तिर दशम गुरु
श्री गुरु गोबिन्द सिंहजी महाराजले भारत पंजाबको आनन्दपुर साहेबमा होला मोहल्लाको औपचारिक परम्परा प्रारम्भ गर्नु भयो। विशेष केन्द्रका रुपमा तख्त श्री केशगढ़ साहिब परिसर ऐतिहासिक रुपमा प्रसिद्ध छ।

वि.सं. १७५७ (करिब १७०० ईस्वी) आसपासको समय भारतमा राजनीतिक अस्थिरताको काल थियो। मुगल सत्ता र पहाडी राजाहरु बीच द्वन्द्व चलिरहेको अवस्था थियो। सिख समुदायलाई आत्मरक्षा र संगठनको आवश्यकता थियो।
श्री गुरु गोबिन्द सिंह जीले होलीको रंगलाई अनुशासन, आध्यात्मिकता र सैन्य प्रशिक्षण सँग जोडेर नयाँ स्वरुप दिनुभयो।

गतका (सिख मार्शल आर्ट) प्रदर्शन

घोडसवारी र शस्त्रकला अभ्यास

तीरन्दाजी र कृपाण (तलवार) संचालनको प्रशिक्षण।

अखण्ड पाठ साहेब गुरुबाणी कीर्तन

कडाह प्रसाद(हलुवा) र लंगर सेवा (सादा भोजन) यसरी होला मोहल्ला केवल पर्व नभई “सन्त–सिपाही” आदर्शको जीवित अभ्यास हो जहाँ आध्यात्मिकता र वीरता एकसाथ जोडिन्छन्। विश्वभरी यो पर्व लाई धुमधाम साथ मनाइन्छ, तर अनन्दपुर साहेबमा यसको विशेष धुम हुने गर्दछ।

देश विदेश बाट हजारौंको संख्यामा श्रद्धालुहरु आनन्दपुर साहेबमा भेला भई यो पर्व मनाउँछन्। होली र होला मोहल्ला दुवै पर्वले फरक-फरक तर पूरक सन्देश दिन्छन् ।

होलीले प्रेम, मेलमिलाप र क्षमाको रंग दिन्छ। होला मोहल्लाले साहस, अनुशासन र आत्मरक्षाको प्रेरणा दिन्छ। तर दुबैको आधार भने सदाचार, मर्यादा र सामाजिक जिम्मेवारी नै हो।

हिलो,माटो, तेल,मोबिल, कमसल खालको रगं, अबिर जसले स्वास्थ तथा छालालाई हानी,नोक्सानी पुर्याउँदछ, त्यसले यो पर्वलाई कुरुप बनाएको छ।

प्राकृतिक रंगको प्रयोग, पानी संरक्षण, महिलाको सम्मान, जबरजस्ती नगर्ने संस्कार, र सामूहिक अनुशासन आजको आवश्यकता हो। रंग केवल शरीरमा लाग्ने पदार्थ होइन, त्यो जीवनदर्शन हो। यदि रंग प्रेमको भयो भने समाज सुन्दर बन्छ । यदि रंग साहसको भयो भने राष्ट्र सुरक्षित बन्छ।

तराई क्षेत्रको सांस्कृतिक विशेषता
नेपालको तराई क्षेत्रमा होली केवल एक दिनको उत्सव होइन-यो सामाजिक जीवनको एक विस्तारित सांस्कृतिक प्रक्रिया हो। तराईको सांस्कृतिक मिठास र सिख परम्पराको वीरता, यी दुबै हाम्रो साझा सभ्यताको धरोहर हुन्। यस पावन अवसरमा हामी सबैले संकल्प गरौं रंगमा मर्यादा, उत्सवमा अनुशासन, र जीवनमा सद्भाव कायम राख्ने।

तराईमा फागुन लागे पछि गाउँ–गाउँमा फगुआ गीत गुञ्जिन थाल्छ। मैथिली, भोजपुरी र अवधी भाषामा गाइने यी गीतहरुमा प्रेम, विरह, सामाजिक व्यंग्य र आध्यात्मिक संकेत मिसिएको हुन्छ। ढोलक, मञ्जिरा, हार्मोनियमको तालमा गाइने यी गीतहरुले सामुदायिक एकतालाई बलियो बनाउँछन्।

तराई मुख्यतः- कृषिप्रधान क्षेत्र भएकाले फागुन–चैतको समय नयाँ बाली भित्र्याउने, खेत तयारी गर्ने र श्रमबाट विश्राम लिने समय पनि हो। त्यसैले होली यहाँ श्रमपछि उत्सवको रुप पनि हो। अंकमाल र अबिर–टिकाको परम्परा अत्यन्त महत्वपूर्ण छ। पुराना रिस राग बिर्सेर आपसी मेलमिलाप गर्ने, मान्यजन बाट आशीर्वाद लिने र साना तिना सामाजिक विवाद मिलाउने अवसरको रुपमा पनि होली लिइन्छ।

गुजिया, मालपुआ, दही–बरा, ठेकुआ जस्ता परिकार तयार पारिन्छन्। घर-घरमा पाहुनालाई बोलाएर सम्मानपूर्वक खुवाउने परम्पराले सामाजिक सम्बन्ध सुदृढ बनाउँछ।
तर विडम्बना के छ भने केही स्थानमा अभद्रता, जबरजस्ती रंग दल्ने, फोहोर पानी वा रसायनिक रंगको प्रयोगले यस पवित्र पर्वको मर्यादा कमजोर बनाएको देखिन्छ। यदि समयमै सचेत नभए हाम्रो मौलिक संस्कृति नै संकटमा पर्न सक्छ।
सिख परम्परामा होला मोहल्ला वीरता र अनुशासनको पर्व होला मोहल्ला, होली, फगुआ तथा फागु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण देश–विदेशमा रहेका श्रद्धालु जनमा शान्ति, सद्भाव, साहस र आध्यात्मिक उन्नतिको हार्दिक मंगलमय शुभकामना ।

जसपाल सिंह
श्रीपुर -११

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *