वीरगंज । बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गरेको खर्च विवरण सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहले सोमबार निर्वाचन आयोगअन्तर्गत झापा निर्वाचन कार्यालयमा आफ्नो चुनावी खर्च बुझाएका हुन्।
फागुन २१ गते सम्पन्न निर्वाचनमा झापा–५ बाट अत्यधिक मतसहित विजयी भएका शाहले कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवारले निर्वाचनपछि खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ।
शाहले बुझाएको विवरण अनुसार सबैभन्दा बढी खर्च वडास्तरीय प्रचार कार्यक्रममा भएको छ, जसमा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै दुई वटा सवारीसाधन प्रयोग बापत २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको देखिएको छ।
झापा–५ मा शाहले केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका थिए। ओलीजस्तो शीर्ष नेतालाई हराएर चर्चामा आएका शाहको चुनावी खर्च सार्वजनिक भएपछि ‘कम खर्चमा ठूलो जित’ को चर्चा समेत सुरु भएको छ।






