Categories समाचार

समानुपातिकमा ‘रोइलो’ नगर्न हर्क साम्पाङको चेतावनी: बोल्नेहरूलाई पार्टीबाट निष्कासन गर्ने

वीरगंज । श्रम संस्कृति पार्टीभित्र समानुपातिक सांसद चयनको विषयलाई लिएर विवाद बढ्दै गएपछि पार्टी अध्यक्ष हर्क साम्पाङले कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी पङ्क्तिलाई समानुपातिकको विषयमा अनावश्यक ‘रोइलो’ नगर्न सचेत गराएका हुन्।

साम्पाङले आफ्नो स्टाटसमा लेखेका छन्, “अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु। हद भो।”

Advertisement

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै राष्ट्रिय पार्टी बन्न आवश्यक थ्रेसहोल्ड पार गरेको छ। सो मतका आधारमा पार्टीले समानुपातिकतर्फ चार सिट सुरक्षित गरेको छ।

Advertisement

निर्वाचन आयोगमा पार्टीले ११० जनाको समानुपातिक उम्मेदवार सूची बुझाएको थियो। प्रत्यक्षतर्फ भने पार्टीले तीन सिट जितेको छ, जसमा सबै पुरुष उम्मेदवार विजयी भएका छन्। प्रत्यक्ष र समानुपातिक गरी पार्टीको कुल सांसद संख्या सात पुगेको छ।

संवैधानिक व्यवस्था अनुसार संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएकाले श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको छ। यसका साथै अन्य समावेशी क्लस्टर पनि मिलाउनुपर्ने भएकाले पार्टीभित्र छलफल र असन्तुष्टि दुवै देखिएको छ।

यही विवाद बढ्दै गएपछि अध्यक्ष हर्क साम्पाङले सार्वजनिक रूपमा कडा चेतावनी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *