वीरगंज । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।
आयोगका उपसचिव श्यामबाबु काफ्लेले जारी गरेको विज्ञप्तिअनुसार कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक भण्डारण गर्ने तथा उपभोक्तालाई समस्या पर्ने गतिविधि देखिएमा त्यस्ता कार्यलाई नियन्त्रण गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरिएको छ।
आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा ग्यास बिक्री–वितरण गर्ने डिपोहरूको अनुगमन तथा अवलोकन गरेको जनाएको छ।
अनुगमनका क्रममा पेट्रोलियम पदार्थ आयात नियमित रूपमा भइरहे पनि केही ग्यास कम्पनीहरूको ढुवानी व्यवस्थापनका कारण आपूर्तिमा आंशिक समस्या देखिएको पाइएको आयोगले उल्लेख गरेको छ। साथै सञ्चारमाध्यममा ग्यास अभावको समाचार फैलिएपछि उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गर्ने तथा केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति देखिएको पनि आयोगले जनाएको छ।
मध्यपूर्व क्षेत्रमा देखिएको तनावपछि विभिन्न ठाउँमा ग्यास अभावको चिन्ता फैलिएको विषयप्रति पनि आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।






