वीरगंज । सिख इतिहासका सातौं गुरु श्री हरिराय जीको जीवन करुणा, सेवा र प्रकृति प्रतिको गहिरो प्रेमको उत्कृष्ट उदाहरण हो। उहाँको शिक्षाले मानव सेवा मात्र होइन, प्रकृति र सम्पूर्ण जीव सृष्टिको संरक्षणलाई पनि आध्यात्मिक कर्तव्यका रुपमा स्थापित गरेको छ। यही कारणले आज विश्वभर विश्व सिख वातावरण दिवस प्रत्येक वर्ष १४ मार्च (फागुन अन्तिम / चैत प्रारम्भ – विक्रम संवत्) का आसपास मनाइन्छ।
यो दिवस गुरु हरिराय साहेब जीको प्रकृति-प्रेम, वातावरण संरक्षण तथा जीव मात्र प्रतिको करुणाको प्रेरणाबाट विश्वभर मनाइने गरिन्छ। गुरु हरिराय साहेब जीको जन्म १६३० ईस्वी (लगभग विक्रम संवत् १६८६) मा पञ्जाबको पवित्र स्थल किरतपुर साहेबमा भएको थियो। उहाँका पिता बाबा गुरदित्ताजी र माता निहाल कौर हुनुहुन्थ्यो (काहीँ-काहीँ अनन्त कौर पनि भनिन्छ) । उहाँ महान् छैंटौं गुरु श्री हरगोबिन्द साहेब जी का नाति हुनुहुन्थ्यो।
बाल्यकाल देखि नै श्री गुरु हरिराय साहेब अत्यन्त दयालु, कोमल हृदयका र प्रकृति प्रेमी हुनुहुन्थ्यो। इतिहासमा वर्णन गरिन्छ कि एक दिन बगैँचामा हिँड्दा उहाँको वस्त्रले फूलको एउटा हागां भाँचियो। त्यस घटनाले उहाँ अत्यन्त दुखी हुनुभयो र त्यसपछि प्रकृति तथा जीवजन्तुलाई कहिल्यै पीडा नदिने संकल्प गर्नुभयो।
सन् १६४४ ईस्वी (विक्रम संवत् १७०१) मा श्री गुरु हरगोबिन्द साहेब ज्योति ज्योत भएपछि गुरु हरिराय साहेब जी केवल १४ वर्षको उमेरमा सिख धर्मका सातौं गुरु बन्नुभयो। उहाँले आफ्नो हजुरबुबा श्री गुरु हरगोबिन्द साहेबले स्थापना गर्नु भएको मिरी-पीरी को सिद्धान्तलाई निरन्तरता दिनु भयो।
श्री गुरु हरिराय साहेब जीले कीरतपुर साहेबमा ठूलो औषधीय बगैँचा स्थापना गर्नुभएको थियो। यस बगैँचामा सयौं प्रकारका जडीबुटीहरु हुर्काइन्थ्यो र बिरामीहरुको उपचार गरिन्थ्यो।
इतिहासमा एउटा महत्वपूर्ण घटना उल्लेख पाइन्छ मुगल बादशाह शाहजहां का छोरा दारा शिकोह गम्भीर विरामी हुँदा श्री गुरु हरिराय साहेब जीले आफ्नै औषधीय बगैँचा बाट औषधि पठाई उपचार गराउनु भएको थियो। यस घटनाले गुरु साहेबको विशाल मानवतावादी दृष्टिकोणलाई प्रकट गर्छ।
गुरु हरिराय साहेब जी प्रकृति संरक्षणका महान प्रेरक हुनुहुन्थ्यो। उहाँले सिकाउनु भएको मुख्य सन्देशहरु:-
१. प्रकृति ईश्वरको अमूल्य उपहार हो ।
२.वनस्पति र जीवजन्तुको संरक्षण गर्नु मानवको कर्तव्य हो ।
३.वातावरणीय सन्तुलन जोगाउनु नै सृष्टिको सम्मान गर्नु हो ।
यही कारणले उहाँलाई सिख इतिहासमा प्रकृति-प्रेमी गुरु को रुपमा पनि स्मरण गरिन्छ।
गुरु हरिराय साहेब जीको यही प्रकृति-प्रेमी दर्शनबाट प्रेरित भएर विश्वभर इको सिख लगायत संस्थाहरुले विश्व सिख वातावरण दिवस मनाउने अभियान सुरु गरेकाे छन्।
यो दिवस १४ मार्च (फागुन–चैत, विक्रम संवत्) का आसपास विश्वभर मनाइन्छ।
यस दिन विभिन्न कार्यक्रमहरु गरिन्छ:
वृक्षारोपण अभियान
नदी तथा जलस्रोत सफाइ
वातावरण संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम, प्लास्टिक जन्य वस्तुहरको न्युनतम प्रयोग (जसले वातावरण लाई प्रत्यक्ष हानी पुर्याउछन।)
लंगर प्रसाद अथवा भोजन विशुद्ध प्राकृतिक तरिका ले उब्जाएको र पकाइएको (जैविक खाद्य, विषादी रहित) लाई प्राथमिकता दिने।
विद्यालय तथा समुदायमा प्रकृति सम्बन्धि शिक्षामा विशेष जोड।
श्री गुरु हरिराय साहेब जीले आफ्नो समयमा सिख धर्मको प्रचार-प्रसार लाई व्यापक बनाउन विभिन्न स्थानमा प्रचारक पठाउनु भयो। उहाँले प्रथम गुरु श्री गुरु नानक देव जी महाराज द्वारा शुरु गरिएको लंगर ((निशुल्क भोजन) प्रथा संगत र लंगर प्रणालीलाई अझ सुदृढ बनाउनु भयो। लंगरले समाजमा समानता र भाईचारा फैलायो।
मुगल सम्राट औरंगजेबको शासनकालमा सिख समुदायलाई विभिन्न चुनौतीहरु सामना गर्नुपर्यो। दरबारमा पठाइएका श्री गुरु हरिराय साहेबका छोरा राम रायले मुगल दरबारलाई खुसी पार्न गुरुवाणीको अर्थ परिवर्तन गरेपछि गुरु श्री हरिराय साहेब जीले सिख धर्मको सिद्धान्तको रक्षा गर्दै उनलाई उत्तराधिकारी बनाउन अस्वीकार गर्नुभयो। यस घटनाले सिख इतिहासमा सत्य र सिद्धान्तको रक्षा सर्वोपरि हुन्छ भन्ने सन्देश स्थापित गर्यो।
श्री गुरु हरिराय साहेब जीले आफ्नो सानो पुत्र श्री गुरु हरिक्रिशन साहेब लाई आफ्नो उतराधिकारी, सिख धर्मको आठौं गुरु नियुक्त गर्नुभयो। यस निर्णयले सिख इतिहासमा आध्यात्मिक योग्यता र सिद्धान्तको महत्वलाई अझ स्पष्ट बनायो।
श्री गुरु हरिराय साहेब जीले १६६१ ईस्वी (लगभग विक्रम संवत् १७१८) मा कीरतपुर साहिब मा ज्योति ज्योत (परलोक गमन) समाउनु भयो। यद्यपि उहाँको जीवनकाल धेरै लामो थिएन, तर उहाँले सेवा, करुणा र प्रकृति संरक्षणको अमूल्य सन्देश सिख इतिहासमा स्थापित गर्नुभयो।
सातौं गुरु श्री गुरु हरिराय साहेब जी को जीवन मानवता, सेवा र प्रकृति-प्रेमको महान उदाहरण हो। उहाँले सिकाउनु भएको सन्देश आज पनि उतिकै महत्वपूर्ण छ। आज जब संसार वातावरणीय संकटको सामना गरिरहेको छ, तब गुरु साहेबको शिक्षाले हामीलाई सम्झाउँछ प्रकृतिको संरक्षण गर्नु नै सृष्टिकर्ताको सम्मान गर्नु हो।
प्रत्येक वर्ष १४ मार्च (फागुन–चैत, विक्रम संवत्) मा मनाइने विश्व सिख वातावरण दिवस गुरु हरिराय साहेब जीको यही अमूल्य सन्देशलाई व्यवहारमा उतार्ने अवसर हो। यो दिवस श्री गुरु हरिराय साहेब जीको प्रकृति-प्रेम, वातावरण संरक्षण तथा जीव मात्र प्रतिको करुणाको प्रेरणाबाट विश्वभर मनाइने गरिन्छ।
सातौ सिख गुरु साहेब श्री गुरु हरिराय जी को संझना तथा उद्देश्य अनुसार वातावरण, वोट विरुवा , जीव प्राणी तथा पशु-पंक्षी सित माया प्रेम तथा संरक्षण र प्रवर्धन हेतु सधा झैँ १४ मार्च मिति ३० गते फागुन २०८२ शनीबार विश्व सिख वातावरण दिवसको पूर्व संध्यामा हिजो श्री गणेश मान जी चोकमा वृहत सरसफाई, साथै त्यहाँ रहेका वोट, विरुवालाई काट छाँट गरी व्यवस्थित गर्ने काम सम्पन्न गरियो।
आज विश्व सिख वातावरण दिवसको अवसरमा श्री गुरुनानक प्रतिष्ठान शोध केन्द्र नेपाल एवं प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा वीरगंज ४ मा स्थित ऐतिहासिक त्रीजुद्ध विधालय प्राङ्गणमा वृहत् वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
आजैदेखि सिख पन्थको नयाँ वर्ष २०८३ पनि प्रारम्भ भएको छ। सो उपलक्ष्यमा देश–विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली आमा–बुबा, दाजुभाइ, दिदीबहिनी तथा सबैमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलकामना व्यक्त गर्दछु। ईश्वरको कृपाले यो नयाँ वर्षले तपाईंहरु सबैको जीवनमा सुस्वास्थ्य, शान्ति, सुख र समृद्धिको वर्षा होस् भन्ने प्रार्थना गर्दछु।

जसपाल सिंह
श्रीपुर, बीरगंज







