वीरगञ्ज। प्रविधिको तीव्र विस्तारसँगै बढ्दो साइबर अपराधबारे सचेत बनाउन वीरगञ्जमा विद्यार्थी लक्षित साइबर क्राइम सम्बन्धी तालिम कार्यक्रम आयोजना गरिएको छ। ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा वडा प्रहरी कार्यालय विर्ताको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा करिब १ सय २० जना विद्यार्थी सहभागी भएका छन्।
कार्यक्रममा हरि खेतान बहुमुखी क्याम्पसका सल्लाहकार तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले पछिल्लो समय प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना बढ्दै गएको बताएका छन्। उनले साइबर सुरक्षाबारे चेतना अभावका कारण धेरै युवायुवती जोखिममा पर्ने गरेको उल्लेख गर्दै माध्यमिक तहबाटै यस विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए।
खेतानका अनुसार कक्षा ११ र १२ का विद्यार्थीहरू प्रविधिको सबैभन्दा बढी प्रयोग गर्ने समूह भएकाले उनीहरूलाई साइबर सुरक्षा सम्बन्धी आधारभूत ज्ञान दिनु अत्यन्त जरुरी छ। “विद्यार्थी स्वयं सचेत हुनुपर्छ, साथै आफ्ना साथीभाइ र समुदायलाई पनि सचेत गराउनुपर्छ,” उनले भने।
उनले समुदायमा साइबर अपराधबारे जनचेतना फैलाउन यस्ता कार्यक्रमको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि विद्यालय तथा समुदायस्तरमा यस्ता तालिम तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट जोगिने उपाय तथा डिजिटल सुरक्षाबारे जानकारी दिइएको आयोजकले जनाएको छ।






