वीरगञ्ज । लगातार पाँच दिनदेखि घाम नलागेपछि मौसमीय प्रतिकूलताका कारण पर्सा जिल्लाका माछापालक किसानहरू समस्यामा परेका छन्। घाम नलाग्दा पोखरीमा अक्सिजनको मात्रा घटेर माछा मर्न थालेपछि किसानहरू आर्थिक संकटमा परेका हुन्।
वीरगञ्ज महानगरपालिका–२३ का माछापालक किसान रमेश महराका अनुसार आफ्नो पोखरीमा अक्सिजनको कमी र पानीमा अमोनिया बढेपछि माछा मर्न थालेका छन्। यसबाट आफूलाई करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए।
उनका अनुसार पोखरीका माछा पानीको सतहमा आएर मुख चलाउँदै (ग्यास्पिङ) देखिन थालेपछि समस्या बढ्दै गएको छ। “पाँच दिनदेखि घाम नलाग्दा पोखरीको पानीमा अक्सिजन घटेको रहेछ, त्यसपछि माछा धमाधम मर्न थाले,” महराले भने।
कृषि प्राविधिकहरूका अनुसार लगातार बादल लाग्दा पोखरीभित्रका लेउ (एल्गी) तथा जलीय वनस्पतिले प्रकाश संश्लेषण गर्न सक्दैनन्। सामान्य अवस्थामा यी वनस्पतिले घामको सहायताले पानीमा अक्सिजन उत्पादन गर्छन्। तर घाम नलाग्दा अक्सिजन उत्पादन रोकिने र माछा तथा अन्य जीवले अक्सिजन प्रयोग गरिरहने भएकाले पानीमा अक्सिजनको मात्रा घट्दै जान्छ।
यसका साथै घामको अभावमा लेउ मर्न थालेपछि कुहिने प्रक्रिया सुरु हुन्छ। यसले पानीमा रहेको बाँकी अक्सिजन पनि खर्च गर्ने र अमोनिया तथा मिथेन जस्ता हानिकारक ग्यास बढाउने प्राविधिकहरू बताउँछन्। यस्तो अवस्थामा माछा पानीको सतहमा आएर सास फेर्ने प्रयास गर्ने र अन्ततः मर्ने जोखिम बढ्छ।
प्राविधिकहरूका अनुसार समस्या देखिएपछि तत्काल पोखरीको पानी चलाएर अक्सिजन बढाउने, बोरिङ वा अन्य स्रोतबाट नयाँ पानी थप्ने, माछालाई दाना हाल्न केही समय रोक्ने तथा मरेका माछा तुरुन्त निकालेर व्यवस्थापन गर्नुपर्ने हुन्छ।
यसैगरी, भविष्यमा यस्ता समस्या कम गर्न पोखरीको क्षमताअनुसार मात्र माछा राख्ने, पानीको गुणस्तर सुधारका लागि आवश्यक परे कृषि चून प्रयोग गर्ने, तथा एरिएटर मेसिन प्रयोग गरी पानीमा अक्सिजन बढाउने उपाय अवलम्बन गर्न सुझाव दिइएको छ। मौसमीय प्रतिकूलताका कारण माछापालन व्यवसायमा समस्या देखिन थालेपछि किसानहरूले सम्बन्धित निकायसँग प्राविधिक सहयोग र राहतको व्यवस्था गर्न माग गरेका छन्।







