Categories समाचार

गहवामाई डोली यात्राअघि वीरगञ्जमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने

Advertisement

वीरगञ्ज । वीरगञ्जस्थित गहवामाई मन्दिर परिसरमा ऐतिहासिक गहवामाई डोली यात्रा अघि बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। चैते दशैंको अवसर पारेर आगामी चैत ११ गते बिहान ७ बजेदेखि माईस्थानस्थित मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको गहवामाई मन्दिर सञ्चालक समितिले जनाएको छ। धार्मिक उत्सवसँगै मानव सेवाको भावनालाई जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।

डोली यात्राको तयारीबारे शनिबार बिहान मन्दिर परिसरमै आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष नरेन्द्र साह ले रक्तदान कार्यक्रम सम्पन्न भएपछि चैत १२ गते ऐतिहासिक गहवामाईको डोली यात्रा भव्यताका साथ निकालिने जानकारी दिए।

Advertisement

उनका अनुसार डोली यात्रा गहवामाई मन्दिरबाट सुरु भई वीरगञ्ज महानगरका विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्दै पुनः मन्दिर परिसरमै पुगेर समापन हुनेछ। यात्राका क्रममा वीर्ता माई मन्दिर, अलखिया मठ, गणेश मन्दिर तथा महावीर मन्दिर लगायतका धार्मिक स्थलहरूमा पूजाअर्चना गर्ने कार्यक्रम तय गरिएको छ।

Advertisement

हजारौँ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको डोली यात्रालाई व्यवस्थित बनाउन नागरिक समाज, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालाहरू सम्मिलित उपसमितिहरू गठन गरिएको समितिले जनाएको छ।

गहवामाईको डोली यात्रामा निशान उठाउन इच्छुक भक्तजनले समितिको कार्यालयबाट ३५० रुपैयाँ सहयोग रकम बुझाएर माताको झन्डा, पटुका र टोपी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। पर्सा, बारा लगायतका जिल्लासहित सीमावर्ती भारतीय शहर रक्सौल बाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको आयोजकले जनाएको छ।

आयोजक समितिले धार्मिक आस्था, सामाजिक सद्भाव र मानव सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिने रक्तदान कार्यक्रम तथा डोली यात्रामा सहभागी भई कार्यक्रम सफल बनाउन सम्पूर्ण भक्तजनलाई आह्वान गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *