वीरगंज । नेपाली कांग्रेस बाराका जिल्ला सभापति राजेश राय यादवसहित १६ नेताको नाम पार्टीले कारबाहीको लागि केन्द्रसमक्ष सिफारिस गरेको छ।
बारा–३ क्षेत्रीय कार्यसमितिले जिल्लाको सभापति यादव र अन्य १५ जनालाई पार्टी नियमविपरीत गतिविधिमा संलग्न भएको आरोपमा कारबाहीका लागि सिफारिस गरेको हो।
क्षेत्रीय सचिव राजेश भण्डारी का अनुसार, प्रतिनिधिसभा सदस्य उम्मेदवार फरमुल्लाह मन्सुरलाई निर्वाचनमा असहयोग गर्ने कार्यमा यादवसहितको समूह सक्रिय भएको पाइएको छ।
क्षेत्रीय कार्यसमितिले पठाएको पत्रमा भनिएको छ, “बारा–३ मा उम्मेदवार मन्सुरलाई पराजित गर्न आफ्ना नातेदार र नजिकका नेता कार्यकर्तालाई परिचालन गरी जिल्ला सभापति यादवले निर्वाचनमा हानिकारक गतिविधि सञ्चालन गरेका छन्।”
पत्रमा सिफारिस गरिएका नेताहरूलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गर्न केन्द्रसमक्ष अनुरोध गरिएको छ।
कारबाही सिफारिसमा परेका नेताहरूको सूची
- राजेश राय यादव – जिल्ला सभापति, नेपाली कांग्रेस बारा
- हरिप्रवेश यादव – सभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
- श्रीनिवास यादव – उपसभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख)
- केदार साह – उपसचिव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
- अम्बिका यादव – उपसभापति, उपमहानगर कार्यसमिति कलैया उ.म.न.पा.
- बजरंगी साह – महाधिवेशन प्रतिनिधि, क्षेत्र नं. २
- भोला राय यादव – सभापति, कलैया उ.म.न.पा. वडा नं. ६
- रामप्रवेश यादव – सभापति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २, बारा
- रबिन्द्र यादव (उर्फ रोवान) – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
- रविकरण साह कलवार – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
- नाजिर अन्सारी – सहसचिव, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३, बारा
- दिपेन्द्र पटेक – कार्यवाहक अध्यक्ष, नेपाल तरूण दल बारा
- मो. अतिउर रहमान (पपपु) – सदस्य, मधेश प्रदेश कार्यसमिति
- अवधेश यादव – प्रदेश महाधिवेशन प्रतिनिधि, क्षेत्र नं. ३ (२) ख
- हरि यादव (हरिन्द्रप्रसाद राउत) – क्षेत्रीय प्रतिनिधि, वडा नं. ५, कलैया उ.म.न.पा.
क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाले हस्ताक्षर गरेको पत्रमार्फत यस सम्बन्धमा कारबाही तत्काल गरिनुपर्ने आग्रह गरिएको छ।






