वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा डा. नन्दन यादवको नाम अन्तिममा नपरेपछि बारा र पर्सा जिल्लामा असन्तुष्टि देखिएको छ। पार्टीका सक्रिय नेता तथा प्रसौनी गाउँपालिका संगठन प्रमुख विनय गुप्ताले सामाजिक सञ्जालमार्फत यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
गुप्ताले रास्वपाको स्थापना कालदेखि नै पर्सा मात्र होइन, मधेसभर संगठन विस्तारमा डा. यादवले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। थोरै व्यक्तिबाट सुरु भएको संगठनलाई आजको अवस्थामा पुर्याउन उनले गरेको संघर्ष, पसिना र समर्पणलाई कसैले नकार्न नसक्ने उनको भनाइ छ।
उनले संगठन निर्माणमा निरन्तर खटिने व्यक्तिहरूलाई पछाडि पारेर नयाँ अनुहारहरू संसदमा पुगिरहेको भन्दै प्रश्न उठाएका छन्। समानुपातिकको बन्द सूचीमा दोस्रो–तेस्रो नम्बरमा नाम हुँदा आशा जागे पनि अन्तिम सिफारिसमा नपर्नु केवल एक व्यक्तिको निराशा मात्र नभई संगठनभित्रको प्राथमिकता, न्याय र मूल्यांकनमाथि गम्भीर प्रश्न उठ्ने विषय भएको उनले उल्लेख गरेका छन्।
गुप्ताले संगठन बनाउने कार्यकर्ताहरूलाई पाखा लगाएर अवसर अरूलाई दिइए कार्यकर्ताको मनोबलमा असर पर्ने बताए। राजनीति केवल भाषण र अनुहारको होइन, संघर्ष, योगदान र इमानदारीको सम्मान गर्ने ठाउँ हुनुपर्ने उनको धारणा छ।
उनले डा. नन्दन यादवजस्ता संघर्षशील व्यक्तिको योगदान कुनै सूचीले मेटाउन नसक्ने उल्लेख गर्दै आगामी राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।






