वीरगंज । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले हालै गरेका राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ।
सोमबार काठमाडौँस्थित माइतीघर मण्डलामा अलायन्सका सदस्यहरूले मौन विरोध प्रदर्शन गरेका हुन्। बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनमा सहभागीहरूले आँखामा कालो पट्टी बाँधेर सरकारप्रति असन्तुष्टि जनाएका थिए।
अलायन्सले सरकारले अहिलेसम्म सार्वजनिक नगरेको कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ। उक्त प्रतिवेदन सार्वजनिक नहुनु पारदर्शिताविरुद्धको कदम भएको उनीहरूको आरोप छ।
यस्तै, मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्ति पनि तत्काल खारेज गर्नुपर्ने माग अलायन्सले गरेको छ।
सरकारले आफूहरूसँग भएको सहमतिविपरीत अपारदर्शी ढङ्गले आफ्ना निकटका व्यक्तिलाई नियुक्ति दिएको आरोप लगाउँदै अलायन्सले यस्तो कार्यप्रति कडा आपत्ति जनाएको छ। जारी विज्ञप्तिमा राज्यका संस्थाहरूलाई राजनीतिक भर्ती केन्द्र बनाउने पुरानो प्रवृत्ति दोहोरिनु जनताको अपेक्षाविपरीत भएको उल्लेख गरिएको छ।
अलायन्सका अनुसार यस्ता कदमले नागरिकको विश्वास कमजोर पार्ने मात्र होइन, जेनजी जनआन्दोलनको भावना माथि पनि आघात पुर्याउने काम गरेको छ।






