वीरगंज । उदयपुरको कटारी क्षेत्रमा सोमबार साँझ आएको शक्तिशाली हुरीबतासले जनधनमा क्षति पुर्याएको छ। प्राकृतिक विपद्का कारण दुई जनाले ज्यान गुमाएका छन् भने छ जना घाइते भएका छन्।
कटारी नगरपालिका–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, वडा नं. ५ तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिकै सखुवाको रुख ढल्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको हो।
हुरीका कारण अन्य छ जना स्थानीय घाइते भएका छन्। घाइतेमध्ये कमलाकुमारी पुलामी मगर र लीलबहादुर दनुवारलाई गम्भीर अवस्थामा विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरिएको छ। बाँकी चार जनाको कटारी अस्पतालमा उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घटनापछि शवहरू पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
यसैबीच, हुरीबतास र वर्षाका कारण कटारीको पहाडी भेगमा घरका छाना उड्नुका साथै केही भौतिक क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्रहरीले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।






