वीरगंज । पर्सा–१ का सांसद हरि पन्तले सपथ ग्रहण गर्न जानुअघि जेन्जी आन्दोलनका सहिद परिवारलाई भेटेका छन्। सपथ ग्रहणका लागि प्रस्थान गर्नुअघि सांसद पन्तले जेन्जी आन्दोलनका सहिद असाब आलम ठकुराइकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइसँग सहिदकै घरमै पुगेर भेट गरेका हुन्।
भेटका क्रममा पन्तले सहिद परिवारबाट एक जनालाई रोजगारीका लागि अब बन्ने सरकारसँग पहल गर्ने बताएका छन्। उनले जेन्जी आन्दोलनकै कारण परिवर्तन सम्भव भएको भन्दै सहिदहरूको बलिदानको उच्च सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।
सांसद पन्तले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत प्रकट गरेका थिए।
जेन्जी आन्दोलनका क्रममा भाद्र २४ गते कोटेश्वरमा गोली लाग्दा असाब आलम ठकुराइको घटनास्थलमै मृत्यु भएको थियो। सहिद आलमको परिवारमा श्रीमती, बुबा, आमा र भाइहरू रहेका छन्।






