वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियानलाई थप तीव्र बनाउँदै आज (मंगलबार)देखि एयर स्प्रे (फगिङ) अभियान सुरु गरेको छ।
लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु र मलेरिया जस्ता प्राणघातक रोगको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले विभिन्न विधिबाट विषादी छर्ने कार्य अघि बढाएको हो।
महानगरपालिकाले यसअघि नै पम्प स्प्रे मार्फत औषधी छर्कने काम गर्दै आएको थियो। अबदेखि बिहान पम्प स्प्रे र साँझ एयर स्प्रे (फगिङ) मार्फत विषादी छर्ने योजना अनुसार अभियान सञ्चालन भइरहेको सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिनुभयो।
उहाँका अनुसार बिहान र दिउँसो लार्भा अवस्थाका लामखुट्टे नियन्त्रण गर्ने तथा साँझ फगिङ मार्फत वयस्क लामखुट्टे नष्ट गर्ने रणनीति अपनाइएको छ।
गर्मी सुरु भएसँगै वीरगंज क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्न थालेपछि महानगरपालिकाले यो अभियान सुरु गरेको हो। अभियानको पहिलो दिन वडा नम्बर १, २ र ३ मा एयर स्प्रे गरिएको छ भने निर्धारित तालिका अनुसार आगामी १२ गतेसम्म महानगरका सबै ३२ वटै वडामा विषादी छर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
महानगर प्रमुख राजेशमान सिंह ले लामखुट्टेको टोकाइबाट हुने रोगबाट नागरिकलाई जोगाउन अभियानलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँले नागरिकलाई घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र अभियानमा सक्रिय सहयोग गर्न आग्रह गर्नुभएको छ।






