वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध औषधि बरामद गरेको छ। काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा करिब ६ लाख २६ हजार रुपैयाँ बराबरका औषधि नियन्त्रणमा लिइएको हो।
गएराति सशस्त्र प्रहरी निरीक्षक निरज थापाको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा नियमित चेकजाँचका क्रममा शंकास्पद सामग्री फेला पारेको थियो। जाँच गर्दा बिलबिजक नभएका २१०१ पत्ता सिल्डिनाफिल ट्याब्लेट, २६७ पत्ता प्रेगआउट किट र १२५ वटा एरोसल स्प्रे बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार ती औषधिहरू यौनवर्धक तथा गर्भनिरोधसँग सम्बन्धित रहेको खुलेको छ। कानुनी कागजातबिना यस्ता सामग्री ओसारपसार गर्नु गैरकानुनी हुने बताइएको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सबै सामग्री थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ।






