Categories समाचार

पर्सा–२ का उम्मेदवार चौधरीको गिरफ्तारीप्रति सर्वदलीय चिन्ता, छिटो छानबिनको माग

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी पर्साको आयोजनामा चैत्र ३ गते जिल्लामा सक्रिय विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनोज कुमार चौधरीसँग सम्बन्धित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैठकपछि जारी संयुक्त धारणा अनुसार चौधरी एक असल, मिलनसार तथा अनुभवी राजनीतिक व्यक्तित्व भएको उल्लेख गर्दै उनलाई नियोजित रूपमा फसाउने प्रयास हुन सक्ने आशंका व्यक्त गरिएको छ। उनी २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका थिए।

Advertisement

मतदान हुनुभन्दा दुई दिनअघि फागुन १९ गते साँझ वीरगञ्ज फर्किने क्रममा सुरक्षा जाँचका बेला उनी सवार गाडीको डिकीमा शंकास्पद वस्तु फेला परेको भन्दै चौधरीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, घटनाको १६ दिनसम्म पनि उक्त वस्तु के हो, कसले, कहिले र किन राखेको हो भन्ने स्पष्ट हुन नसकेको भन्दै सर्वदलीय बैठकले असन्तुष्टि जनाएको छ।

Advertisement

राजनीतिक दलहरूले अनुसन्धानको नाममा अनावश्यक ढिलाइ गरी मनोवैज्ञानिक दबाब सिर्जना गरिएको हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष र छिटो छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, चौधरीजस्तो उम्मेदवारले आफैं सवार गाडीमा शंकास्पद वा विष्फोटक पदार्थ राखेर हिँड्ने विषय अस्वाभाविक भएको दाबी गरिएको छ।

बैठकले निर्दोष व्यक्तिहरूलाई नियतवश फसाउने प्रयास हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको छ। घटनाको भोलिपल्ट अर्को स्थानमा फेला परेको वस्तुसँग यस घटनालाई जोडेर अझ जटिल बनाउने प्रयास भइरहेको हुन सक्ने आशंका समेत व्यक्त गरिएको छ।

सर्वदलीय बैठकले ढिलाइ नगरी छानबिन प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्न, निर्दोषलाई न्याय दिन र यथार्थ बाहिर ल्याउन जोडदार माग गरेको छ। अन्यथा भविष्यमामा थप कदम चाल्न बाध्य हुने चेतावनी पनि दिइएको छ।

उक्त संयुक्त धारणा विभिन्न राजनीतिक दलका जिल्ला स्तरीय नेताहरूले हस्ताक्षर गरी सार्वजनिक गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *