वीरगंज । कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। ३१ वर्षीय रामबहादुर मगरले आफ्नी २७ वर्षीया श्रीमती सञ्जिता मगरमाथि गोली प्रहार गरी हत्या गरेका छन् भने त्यसपछि आफूले पनि आत्महत्या प्रयास गरेका छन्।
गोली लागेर सञ्जिताको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका रामबहादुरलाई अचेत अवस्थामा सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार उनको उपचार भइरहेको छ।
प्रहरीका अनुसार बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा श्रीमान–श्रीमतीबीच विवाद भएको थियो। सोही क्रममा रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी सञ्जितामाथि गोली चलाएका थिए।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको यकिन समय भने अझै खुल्न सकेको छैन। मृतक सञ्जिताका माइती पक्ष घटनास्थलमा पुगेपछि मात्रै शव उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।






