वीरगंज । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित ११० जना सांसदलाई आज निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने भएको छ। निर्वाचन आयोगले यसअघि सोमबार नै ती सांसदहरूको नामावली सार्वजनिक गरिसकेको छ।
सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाल कम्युनिष्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका चार–चार जना सांसद समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन्।
आयोगले प्रमाणपत्र वितरणसँगै प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणामसहितको विस्तृत प्रतिवेदन आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने तयारी गरेको छ। उक्त प्रतिवेदन बुझाएपछि संविधान २०७२ को धारा ७६ (९१०) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।






