वीरगंज । नेपाल जेन-जी फ्रन्टले आफ्नो संयोजक रक्षा बममाथि हिजो भएको दुर्व्यवहारको घोर भर्त्सना गरेको छ। भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष जाँचबुझ गर्न गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलमा निरन्तर शान्तिपूर्ण प्रदर्शन गर्दै आएको जेन-जी फ्रन्टले यो आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा अस्वीकार्य भएको जनाएको छ।
फ्रन्टका अनुसार, रक्षा बमले आन्दोलनको अनुशासन र नियमको पालन गर्दै नागरिक अधिकार प्रयोग गरी सत्य र न्यायको आवाज उठाएकी थिइन्। “संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार भेला हुने स्वतन्त्रता सुनिश्चित गरेको छ। त्यसको प्रयोग गर्दै आन्दोलनमा रहेका संयोजकमाथि आक्रमण हुनु कदापि सह्य छैन,” फ्रन्टले जनाएको छ।
फ्रन्टले भदौ २३ गतेको घटनामा घाइते र शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै भनेको छ कि असहमति र प्रश्नहरू आन्दोलनलाई कमजोर बनाउँदैनन्, बरु जीवन्त बनाउँछन्। साथै, राज्यले अझै सत्य लुकाइरहेको र जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नहुने सम्भावना बढ्दै गएको भन्दै, आन्दोलनमाथि हुने आक्रमणले आन्दोलनलाई कमजोर बनाउने चेतावनी दिएको छ।
नेपाल जेन-जी फ्रन्टले शहीद, घाइते र आन्दोलनकारीहरूको हित तथा अग्रगामी परिवर्तनका लागि लडिरहने प्रतिबद्धता दोहोर्याएको छ। फ्रन्टले यस्ता घटनाले आफ्नो मनोबल विचलित नगर्ने र आफ्नो सिद्धान्तमा अडिग रहेर आन्दोलनमा सक्रिय रहिरहने पनि बताएको छ।






