वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट सशस्त्र प्रहरी बल नेपालले २० लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05BK 8603 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक वीरगन्ज–१७ निवासी ५० वर्षीय विनय शंकर साह तुरहालाई नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा मोटरसाइकलको सिट कभर मुनि प्लास्टिकमा लुकाइ राखिएको अवस्थामा नेपाली २० लाख २ हजार ५० रुपैयाँ र भारतीय ६०० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्ति, मोटरसाइकल, मोबाइल तथा परिचयपत्रसहित आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।






