काठमाडौं । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै सोमबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ। आज सुन प्रतितोला ६ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ७५ हजार ५ सय रुपैयाँमा कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ ले सार्वजनिक गरेको दरअनुसार अघिल्लो दिन पनि सुनको भाउ १२ हजार ५ सय रुपैयाँले ओरालो लागेको थियो, जसदिन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गत सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो भने गत माघ १५ गते सुनले अहिलेसम्मकै उच्च रेकर्ड बनाउँदै ३ लाख ३९ हजार ३ सय रुपैयाँ छोएको थियो।
पश्चिम एसियाली क्षेत्रका मुलुकहरूमा बढ्दो द्वन्द्वका कारण कच्चा तेलको मूल्य उकालो लाग्दा अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको माग बढिरहेको छ। डलरको उपलब्धता व्यवस्थापन गर्न सुन बिक्री बढेपछि यसको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।






