वीरगंज । बिश्रापुर गाउँपालिका–५ स्थित ईटियाही सानो टोलमा लामो समयदेखि बेवास्तामा परेको करिब २५ कट्ठा क्षेत्रफलको पोखरी अब नयाँ स्वरूपमा देखिने संकेत देखिएको छ। स्थानीय तह र समुदायको पहलमा उक्त पोखरीलाई व्यवस्थित गरी पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको हो।
यसै क्रममा सोमबार स्थानीयवासी तथा जनप्रतिनिधिहरूले पोखरीको स्थलगत निरीक्षण गर्दै नापजाँच कार्य सुरु गरेका छन्। प्रारम्भिक चरणमा विस्तृत नाप–नक्सा तयार गरी विस्तृत परियोजना प्रतिवेदन (DPR) बनाइने योजना रहेको छ।
परियोजना प्रतिवेदन तयार भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायसँग पहल गरिने र पोखरीलाई आधुनिक पार्कसहितको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको स्थानीयले बताएका छन्।
निरीक्षण कार्यक्रममा वडा अध्यक्ष अमिरी लाल गुप्ता, पूर्व वडा अध्यक्ष भोला साह सोनार, समाजसेवी कृष्णा साह, गाउँपालिका अध्यक्षका प्रत्यासी सुमित यादव लगायत विभिन्न स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
स्थानीय तह र समुदायबीचको सहकार्यमा अघि बढेको यो अभियान सफल भएमा क्षेत्रको सौन्दर्य अभिवृद्धिसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।






