वीरगन्ज । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज मंगलबार परेको छ। आज साँझ व्रतालुहरूले अस्ताउँदै गरेको सूर्य र छठी मातालाई अर्घ्य अर्पण गर्दैछन्।
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने यस पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिलाई मुख्य दिनका रूपमा मानिन्छ, जसलाई ‘सँझिया घाट’ पनि भनिन्छ। यस अवसरमा व्रतालुहरू नदी, पोखरी तथा तलाउलगायतका जलाशयमा निर्माण गरिएका छठ घाटमा पुगेर अस्ताउँदो सूर्य र छठी माताको पूजा आराधना गर्दै अर्घ्य अर्पण गर्छन्।
वीरगन्जका घडीअर्वा पोखरी, रानीघाटस्थित सिर्सिया नदी, नगवा, छपकैया लगायतका स्थानका छठ घाटहरूमा आज साँझ व्रतालुहरूको विशेष भीड लाग्ने गर्दछ। यी स्थानहरूमा श्रद्धालुहरू भेला भई सूर्य भगवान् र छठी माताको पूजा गर्ने परम्परा रहेको छ।
अर्घ्यका लागि व्रतालुहरूले गहुँ वा चामलको पिठोबाट बनाइएको ठेकुवा, मुला, गाजर, हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल तथा सामग्री अर्पण गर्छन्।
छठ पर्वको अन्तिम दिन सप्तमी तिथिका दिन भोलि (बुधबार) बिहान व्रतालुहरूले पुनः छठ घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि विधिवत् रूपमा पूजा सम्पन्न हुनेछ। यसअघि सोमबारदेखि निर्जला व्रत बसेका व्रतालुहरूले साँझ स्नान गरी शुद्ध भई घरको पूजा कोठामा नयाँ चुलो बनाएर चामल र भेलीबाट खीर (रसिआव) तथा गहुँको रोटी पकाई चन्द्रमालाई अर्पण गरेका थिए।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने यो महान् पर्व तराई मधेसमा वर्षमा दुई पटक कात्तिक र चैत महिनामा मनाइन्छ। धार्मिक विश्वासअनुसार छठ व्रत पालन गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने मान्यता रहेको छ। पछिल्ला वर्षहरूमा चैतमा मनाइने चैती छठप्रति पनि श्रद्धालुहरूको आकर्षण बढ्दै गएको देखिन्छ।






