वीरगंज । नयाँ सरकार गठन भएसँगै पहिलो महिला महान्यायाधीवक्ता सविता भण्डारीले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा उनी जेनजी आन्दोलनपछि बनेको सरकारले २९ भदौमा नियुक्त गरेको थियो।
भण्डारीले प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाइसकेको जानकारी दिँदै आफ्नो कार्यकालका निर्णयप्रति कुनै पछुतो नरहेको स्पष्ट पारेकी छन्। सार्वजनिक पदमा रहँदा आलोचना र आरोप सहनु पर्ने यथार्थ आफूले नजिकबाट अनुभव गरेको उनको भनाइ छ। आफूले निष्ठा नबेची विश्वासका आधारमा निर्णय गरेको भन्दै उनले ती निर्णयप्रति गर्व नै रहेको उल्लेख गरिन्।
उनले पहिलो महिला महान्यायाधीवक्ताको रूपमा काम गर्दा लैङ्गिक पूर्वाग्रहको सामना गर्नुपरेको पनि बताइन्। केही ‘बोल्ड’ निर्णयले पुरुषप्रधान सोचलाई असहज बनाएको उनको संकेत थियो।
उनको कार्यकाल भने विवादरहित रहेन। रवि लामिछाने संलग्न रहेको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्ने निर्णय, परिवारसँग जोडिएको डिम्ब प्रकरणमा मुद्दा नचलाउने निर्णय, र वर्ल्ड लिंकसँग सम्बन्धित विषयमा कारबाही अघि नबढाउने निर्णयले उनलाई आलोचनाको केन्द्रमा राखेको थियो।






