“वो आया है सियासत मे तूफान बनकर, पुराने ख्वाब टूटे है, नया अरमान बनकर !!
नाम उसका ही अब हर जुबान पर है, बालेन अब सिर्फ नाम नही, बदलावका ब्राण्ड है” !!
आजको दिन नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी क्षणको रूपमा बालेनको नाम दर्ज भएको छ। रास्पाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा चयन हुनु नेपालको राजनीतिक मनोविज्ञानमा ऐतिहासिक मोड ल्याएको छ। अब हरेक काममा if, but, भोलि गरौं भन्ने बहानाको समय समाप्त भएको छ। जनताले स्पष्ट जनादेश दिसकेको र त्यो जनादेश आशा मात्र होइन, बालेन नेतृत्वको कडा जिम्मेवारी पनि हो।
बालेन सरकारसँग “excuse space” नी छैन। अब भन्न नी पाइँदैन की सिस्टम बिग्रिएको छ, हामी नयाँ हौं, समय लाग्छ किनकि जनताले त्यही सिस्टम परिवर्तन गर्न लगभग दुई तिहाइका शक्ति दिएका छन। त्यसैले अहिलेको अवस्था “make or break moment” बनेको हो। Gen Z ले नेपालमा political culture नै परिवर्तन गरिसकेको छ।
अब politics celebrity based होइन, credibility based भएको छ। अब नेताको भाषण होइन, track record महत्त्वपूर्ण भएको छ। नेपाली जनताको दशकौं लामो आशा, निराशा, संघर्ष, विद्रोह र परिवर्तनको चाहनाले नै गर्दा रास्पाको लगभग दुई तिहाइको बहुमतले एउटा स्पष्ट सन्देश दिएको छ की “हामी पुरानो राजनीतिबाट दिक्क छौं, अब नयाँ बाटो चाहिएको छ”।
यो घटनालाई बुझ्नका लागि हामीले नेपालको राजनीतिक विकासक्रम, जनआन्दोलनहरू, शासन प्रणालीको रूपान्तरण, दलगत विकृति, र नयाँ पुस्ताको उदयसम्मको समग्र यात्रालाई गहिराइमा विश्लेषण गर्न आवश्यक हुन्छ।
नेपालको आधुनिक राजनीतिक इतिहास राणा शासनको अन्त्यसँगै सुरु भएको थियो। १०४ वर्षसम्म चलेको निरंकुश राणाशासनले जनतालाई अधिकारविहीन बनाएको थियो। २००७ सालको क्रान्तिले पहिलोपटक जनतालाई राजनीतिक अधिकारको स्वाद चखायो। तर त्यो परिवर्तन स्थायी बन्न सकेन। त्यसपछि सुरु भएको सत्ता संघर्ष र अस्थिरताले देशलाई पुनः पञ्चायती व्यवस्था तर्फ धकेल्यो, जहाँ दलविहीन शासन प्रणालीले जनताको आवाजलाई नै दबाएको थियो।
वि.सं. २०४६ चैत २६ गते ५० दिने जनआन्दोलनको जगमा ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातन्त्रको पुनर्बहाली भएको थियो। नेपाली कांग्रेस र संयुक्त वाम मोर्चाको नेतृत्वमा भएको सो ऐतिहासिक आन्दोलनले संवैधानिक राजतन्त्र र बहुदलीय शासन प्रणालीको पुनःस्थापना गरेको थियो।
त्यो आन्दोलनले नेपाली जनताको चेतनालाई नयाँ उचाइमा पुर्यायो। तर, त्यसपछि सुरु भएको राजनीतिक अभ्यासले दलहरूबीच सत्ता संघर्ष बढ्दै गयो र भ्रष्टाचार संस्थागत हुँदै गयो जसको कारणले जनताको अपेक्षा पुरा गर्न सकेका थिएनन्।
यही निराशाको पृष्ठभूमिमा सशस्त्र द्वन्द्व (जनयुद्ध) तत्कालीन नेकपा (माओवादी) द्वारा २०५२ फागुन १ गते औपचारिक रूपमा शुरू भई करिब १० वर्षसम्म चलेको यो द्वन्द्व २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत अन्त्य भएको थियो। यस अवधिमा यस द्वन्द्वले देशलाई गहिरो संकटमा धकेलेको थियो। हजारौं नागरिकको ज्यान गएको थियो, विकास प्रक्रिया ठप्प भएको थियो र राज्य संरचना कमजोर बन्दै गएको थियो।
यसै क्रममा १९ दिन सम्म चलेको २०६२/०६३ को जनआन्दोलन २ ले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्न सफल भएको थियो।जुन आन्दोलनमा विभिन्न राजनीतिक दल र शसस्त्र युद्ध गरिरहेको तत्कालीन माओवादी समेत सम्मिलित भएको थियो।
गणतन्त्र स्थापना भएपछि जनतामा ठूलो आशा जागेको थियो की अब देशमा वास्तविक लोकतन्त्र आउनेछ, विकास हुनेछ, समानता स्थापित हुनेछ। तर यथार्थ फरक रह्यो। संविधान निर्माणमा लामो ढिलाइ, दलहरूबीचको असहमति, सत्ताको बाँडफाँड र जनताको मुद्दाप्रति उदासीनताले जनतालाई पुनः निराश बनाएको थियो।
विशेषगरी २०७२ सालमा संविधान जारी हुँदा मधेश क्षेत्रमा भएको आन्दोलनले देखायो कि राज्य अझै समावेशी बन्न सकेको छैन। मधेश, जनजाति, दलित र अन्य सीमान्तकृत समुदायहरू अझै पनि अधिकारका लागि संघर्ष गरिरहेका छन। राज्य र जनताबीचको दुरी घट्नुको सट्टा झन् बढ्दै गएको थियो।
यसैबीच नेपालमा एउटा नयाँ प्रवृत्ति देखिन थाल्यो, स्वतन्त्र उम्मेदवारहरूको उदय। परम्परागत दलप्रति जनताको विश्वास घट्दै गएको अवस्थामा नयाँ विकल्पको खोजी सुरु हुन लाग्यो।
त्यही सन्दर्भमा उदाएका हुन बालेन शाह।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा उनले केवल एउटा पद जितेका थिएनन् । उनले जनताको मन जितेका थिए। उनको नेतृत्व शैली निर्भीक, स्पष्ट, प्रविधिमैत्री र परिणाममुखी नेपाली राजनीतिमा फरक पहिचान बनाए। उनले देखाए कि इच्छाशक्ति भए परिवर्तन सम्भव छ।
आज उनी प्रधानमन्त्री हुनु भनेको त्यो आशाको विस्तार हो। जनताले अब परम्परागत राजनीतिक शैली होइन, नयाँ सोच, नयाँ ऊर्जा र नयाँ दृष्टिकोण चाहेका छन। तर यहाँ एउटा सोच्नुपर्ने महत्वपुर्ण कुरा के छ भने के केवल व्यक्तिको परिवर्तनले सिस्टम परिवर्तन हुन्छ? नेपालको इतिहासले बारमबार देखाउदै आएको छ कि नेतृत्व परिवर्तन भए पनि सिस्टम यथावत रहदै आएको छ। भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती, विभिन्न हस्तक्षेप र नीतिगत अस्थिरता जस्ता समस्याहरू गहिरो रूपमा जरा गाडेर बसेका छन।
प्रधानमन्त्रीको रूपमा बालेन शाहले सामना गर्नुपर्ने चुनौतीहरू पनि असाध्यै जटिल अवस्थामा रहेको छ। पहिलो चुनौती नै प्रशासनिक सुधार हो। नेपालको ब्यूरोक्रेसी अझै पनि पुरानो सोचमा आधारित छ। निर्णय प्रक्रिया ढिलो छ, कार्यान्वयन कमजोर छ र उत्तरदायित्वको अभाव छ। यदि उनले यस क्षेत्रमा सुधार गर्न सके भने मात्र सुशासन सम्भव हुनेछ। त्यस्तै दोस्रो चुनौतीको रुपमा भ्रष्टाचार नियन्त्रण हो।
नेपालमा भ्रष्टाचार एउटा संरचनागत समस्या बनेको अवस्था छ। ठुलठुलो काण्डहरू सार्वजनिक भए पनि दोषीलाई कारबाही गर्न सकिएको छैन। जनताले बालेन सरकारसंग अब शून्य सहनशीलताको अपेक्षा गरेका छन। तेस्रो चुनौतीलाई हेर्दा आर्थिक विकास हो। बेरोजगारी, वैदेशिक रोजगारीमा निर्भरता र उत्पादनशील क्षेत्रको कमजोरीले देशको अर्थतन्त्र कमजोर बनाएको अवस्था छ।
युवाहरू विदेशिन बाध्य भएका छन। यदि उनले देशभित्र अवसर सिर्जना गर्न सके भने मात्र जनताको विश्वास कायम रहनेछ। त्यस्तै चौथो चुनौतीको रुपमा संघीयता कार्यान्वयनको कुरा छ। संविधानले संघीय संरचना दिएको छ तर व्यवहारमा अझै केन्द्रिकृत सोच नै हावी छ। प्रदेश र स्थानीय तहलाई अधिकार दिनु, स्रोतसाधनको समान वितरण गर्नु र समन्वय कायम गर्नु अति आवश्यक छ। यसरी पाँचौं चुनौतीको कुरा गर्दा सामाजिक न्यायमा हो। मधेशी, जनजाति, दलित, महिला र अन्य सीमान्तकृत समुदायहरूको अधिकार सुनिश्चित गर्नु आवश्यक छ। राज्य सबैका लागि समान हुनुपर्छ।
इतिहासले देखाएको छ की जब जनताको आशा पुरा हुँदैन, आन्दोलन हुन्छ। जनआन्दोलन १ र जनआन्दोलन २ त्यसका ज्वलन्त उदाहरण पनि हुन। त्यसैले अहिलेको बालेन नेतृत्वले जनताको आवाज सुन्नुपर्छ, उनीहरूको अपेक्षा बुझ्नुपर्छ र त्यसअनुसार काम पनि अनिवार्य रुपमा गरिनुपर्छ। आजको सन्दर्भमा राजनितिमा जनताको मनोविज्ञान बुझ्न जरुरी हुन्छ। जनता अब भावनात्मक भाषणबाट प्रभावित कदापी हुँदैनन्। उनीहरू परिणाम हेर्न चाहन्छन।सडक, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभुत आवश्यकताहरू पुरा हुनु नै उनीहरूको प्राथमिकता हो।
बालेन शाहको नेतृत्वमा जनताले के अपेक्षा गरेका छन ?
जनताले त्यस्तो अपेक्षा राखेका छन की न्याय त्यस्तो होस जहाँ कानुन सबैका लागि समान होस। सुशासन त्यस्तो होस जहाँ सरकारी सेवा सहज र पारदर्शी होस। विकास त्यस्तो होस जहाँ गाउँगाउँमा अवसर पुग्न सकोस। सम्मान त्यस्तो होस जहाँ कुनै पनि समुदाय विभेदमा नपरोस र भविष्य त्यस्तो होस जहाँ युवाहरू आफ्नै देशमा सम्भावना देख्न सकोस।
तर यथार्थमा यो यात्रा सहज हुनेवाला छैन। विभिन्न राजनीतिक दबाब, आन्तरिक षड्यन्त्र, प्रशासनिक अवरोध र अन्तर्राष्ट्रिय दबाब यी सबैले उनको मार्ग कठिन हुनेवाला नै छ।
यहाँ एउटा गहिरो प्रश्न पनि उठ्छ की के नेपाल वास्तवमै परिवर्तनको लागि तयार छ? वा हामी फेरि पनि पुरानै चक्रमा फस्नेवाला छौ?
नेपालको राजनीतिक इतिहासलाई निहालेर हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ की जनताले बारम्बार आफ्ना नेतृत्व माथि विश्वास गरेका छन तर त्यो विश्वास बारम्बार तोडिदै आएको छ। अब यो अन्तिम अवसर जस्तै देखिएको छ। यदि यो पटक पनि परिवर्तन भएन भने, जनताको विश्वास पुनः स्थापित गर्न अत्यन्त कठिन हुनेवाला छ।
आजको दिन एउटा राजनीतिक, सामाजिक, मनोवैज्ञानिक र ऐतिहासिक मोड हो। यो क्षणले भविष्यको दिशा निर्धारण गर्नेछ भन्ने आश हरेक नेपाली जनताले राखेका छन। अन्ततः बालेन शाहको नेतृत्वले नेपाललाई नयाँ दिशा दिने अवसर पाएको छ। तर त्यस अवसरलाई उपलब्धिमा रूपान्तरण गर्न दृढ इच्छाशक्ति, स्पष्ट दृष्टि र जनताको साथ आवश्यक हुन्छ। आज जनताको मनमा एउटै प्रश्न खडा भएको छ की “के यो पटक साँच्चिकै नेपाल परिवर्तन हुन्छ?” र यसको उत्तर खोज्ने काम आजको समय १२:३४ बजे शपथ पछी शुरु भईसकेको छ।
लेखकः कन्हैया चौरसिया
(कानुन क्षेत्र)






